निर्वाचन आयोगले आगामी चैत पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी थालेको छ । संविधान र कानुनमा भएको व्यवस्थाअनुसार निर्वाचन मिति घोषणा गर्न आवश्यक छलफल भइरहेको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनको वातावरण बनाउन मंसिर ४ गते राजनीतिक दलहरूलाई छलफलका लागि बोलाइएको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ मा गाउँसभा वा नगरसभाका सदस्यको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।
निर्वाचन आयोगको सिफारिसमा सरकारले निर्वाचन मिति घोषणा गर्ने संवैधानिक व्यवस्था छ । राजनीतिक दलहरूसँगको छलफल र कानुनी व्यवस्थाका आधारमा निर्वाचनको मिति टुङ्गो लगाइने आयोगको भनाइ छ ।














