पर्यटनमार्फत नेपाल–भारत सम्बन्ध थप मजबुत बनाउन मन्त्री पौडेलको जोड

Image

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पर्यटन, हवाई सम्पर्क र जनस्तरको आदानप्रदानमार्फत नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउनुपर्ने बताएका छन् ।

बुधबार भारतको नयाँदिल्लीमा नेपाल पर्यटन बोर्ड र नेपाली राजदूतावासले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले पर्यटन क्षेत्रले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सक्ने बताएका हुन् ।

उनले नेपाल–भारत सम्बन्ध कूटनीतिमा मात्र सीमित नभई साझा संस्कृति, सभ्यता, आस्था र जनस्तरको आत्मीयतासँग जोडिएको उल्लेख गरे । पर्यटनले दुई देशका नागरिकबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै आर्थिक अवसरसमेत विस्तार गर्ने उनको भनाइ छ ।

मन्त्री पौडेलले धार्मिक तथा आध्यात्मिक गन्तव्य, प्राकृतिक सम्पदा, साहसिक पर्यटन, सांस्कृतिक विविधता र स्वास्थ्य तथा आरोग्य पर्यटन भारतीय पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने बताए ।

उनले पर्यटन प्रवर्द्धनका लागि हवाई तथा स्थलमार्गको सम्पर्क विस्तार, सहज आवागमन र निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्नेमा पनि जोड दिए ।

यसैबीच, मन्त्री पौडेलले भारतका केन्द्रीय नागरिक उड्डयनमन्त्री राममोहन नायडु किन्जारापुसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा नेपाल–भारत हवाई उड्डयन क्षेत्रको विकास, द्विपक्षीय सहकार्य विस्तार तथा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।