राइजिङ स्टार्स एसिया कपमा नेपालले आज यूएईसँग खेल्दै

Image

 एसीसी एसिया कप राइजिङ स्टार्स  क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आइतबार आफ्नो दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्दै छ। 

कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी मैदानमा हुने समूह ‘बी’ को खेल नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ।

प्रतियोगितामा सुखद सुरुआत गर्न नसकेका दुवै टोली आज पहिलो जितको खोजीमा मैदान उत्रिनेछन् । 

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आफ्नो पहिलो खेलमा शुक्रबार भारत ‘ए’ सँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको थियो। भारत ‘ए’ ले दिएको ३ सय ३३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ११.३ ओभरमा मात्र २६ रनमा समेटिएपछि कमजोर लयमा देखिएको थियो।   

अर्कोतर्फ, यूएई पनि पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ६१ रनले पराजित भएको थियो। २४६ रनको लक्ष्य पछ्याएको यूएई ४०.५ ओभरमा १८४ रनमै अलआउट हुन पुगेको थियो।   

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने भएकाले अघिल्लो चरणको सम्भावना जीवित राख्न नेपाल र यूएई दुवैका लागि आजको खेल निकै महत्त्वपूर्ण छ। 

नेपालले समूह चरणको आफ्नो अन्तिम खेल मंगलबार पाकिस्तान ‘ए’ सँग खेल्ने तालिका छ।