चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको संख्या दोब्बरभन्दा बढी

Image

उच्च हिमाली क्षेत्रमा चिसो बढ्न थालेसँगै सगरमाथा क्षेत्र (खुम्बु) बाट हवाई मार्ग हुँदै बाहिरिने पर्यटकको संख्या बढेको छ। जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको पछिल्लो साप्ताहिक तथ्याङ्कअनुसार खुम्बु क्षेत्रमा प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको संख्या दोब्बरभन्दा बढी देखिएको हो।

प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो सात दिनमा हवाई मार्गमार्फत १ हजार १८० पर्यटक खुम्बु क्षेत्रबाट बाहिरिएका छन् भने ५२९ जना भित्रिएका छन्। प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको संख्या ६५१ ले बढी छ। यसले शरद ऋतुको मुख्य पर्यटकीय सिजन क्रमशः सकिँदै गएको संकेत गरेको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङका अनुसार बाहिरिने पर्यटकमध्ये ८७७ विदेशी र ३०३ स्वदेशी छन्। यसैगरी, खुम्बु क्षेत्रमा प्रवेश गर्नेमा ३७४ विदेशी र १५५ स्वदेशी पर्यटक रहेका छन्।

बाहिरिने विदेशी पर्यटकमध्ये ३२७ महिला र ५५० पुरुष छन् भने स्वदेशी पर्यटकमध्ये ४६ महिला र २५७ पुरुष रहेका छन्। प्रवेश गर्ने विदेशी पर्यटकमा १०२ महिला र २७२ पुरुष तथा स्वदेशी पर्यटकमा ५४ महिला र १०१ पुरुष रहेको प्रहरीको विवरणमा उल्लेख छ।

खुम्बु क्षेत्रमा चिसो बढेसँगै पर्यटक फर्किने क्रम तीव्र भएको स्थानीय दाली शेर्पाले बताए। उनका अनुसार नाम्चे क्षेत्रमा रातिको तापक्रम माइनसमा झर्न थालेको छ। राति र बिहान अत्यधिक चिसो हुने तथा पानी जम्न थालेपछि पर्यटकले यात्रा छोट्याउन थालेका छन्।

सगरमाथा क्षेत्रको मुख्य पर्यटकीय सिजनमध्ये शरद ऋतुमा असोज र कात्तिकमा पर्यटकको चाप बढी हुने गर्छ। मनसुन सकिएपछि मौसम सफा हुने, हिमाल स्पष्ट देखिने र पदयात्राका लागि अनुकूल वातावरण बन्ने भएकाले यो अवधिमा आन्तरिक तथा विदेशी पर्यटकको आगमन बढ्छ। तर, कात्तिकको उत्तरार्धसँगै तापक्रम घट्ने, राति अत्यधिक चिसो हुने र उच्च क्षेत्रमा हिमपातको सम्भावना बढ्ने हुँदा पर्यटक फर्किने क्रम तीव्र हुने गरेको छ।

सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का अध्यक्ष तथा पर्यटन व्यवसायी लामाकाजी शेर्पाले उच्च हिमाली क्षेत्रमा चिसो बढ्दा पर्यटकको बसाइ अवधि र गतिविधिमा प्रभाव पर्ने बताए। सिजनको अन्तिमतिर पर्यटकले मौसम, तापक्रम, हिमपातको सम्भावना र पदयात्राको अवस्थालाई ध्यानमा राखेर यात्रा व्यवस्थापन गर्ने भएकाले बाहिरिने क्रम बढ्ने उनको भनाइ छ।

खुम्बु क्षेत्रको पर्यटन गतिविधि मौसमसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै पर्यटन व्यवसायी स्पिडकाजी शेर्पाले जाडो सुरु भएपछि उच्च हिमाली क्षेत्रमा यात्रा कठिन हुने र पर्यटकको संख्या घट्दै जाने बताए। शरद सिजनमा पर्यटकको चाप उच्च रहने भए पनि तापक्रम घट्न थालेपछि पर्यटन गतिविधि क्रमशः सुस्ताउने उनको भनाइ छ।

लुक्लास्थित तारा एयरका स्टेसन इन्चार्ज अमृत मगरका अनुसार पर्यटकको आवागमनमा मौसमी अवस्था र पर्यटन सिजनको प्रत्यक्ष प्रभाव देखिन्छ। पर्यटकको चाप बढी हुँदा हवाई उडान बढ्ने र सिजन कमजोर हुँदै जाँदा बाहिरिने पर्यटकको संख्या बढ्ने गरेको उनले बताए।

उनका अनुसार मौसमको अवस्था हवाई उडानका लागि महत्त्वपूर्ण हुने भएकाले लुक्ला विमानस्थलबाट हुने उडान गतिविधि पनि मौसमअनुसार प्रभावित हुने गरेको छ।

चिसो बढेसँगै पर्यटकको आवागमनमा आएको परिवर्तनले स्थानीय पर्यटन व्यवसायमा समेत प्रभाव पार्न थालेको लुक्लाका स्थानीय तोयाकुमार श्रेष्ठले बताए। मुख्य पर्यटकीय सिजन सकिन लाग्दा होटल, पसल, पदयात्रा सेवा तथा अन्य पर्यटन व्यवसायको गतिविधि क्रमशः घट्दै जाने उनको अनुभव छ। उच्च क्षेत्रमा चिसो बढेपछि पर्यटकले यात्रा छोट्याउने वा तल्लो क्षेत्रतर्फ फर्कने प्रवृत्ति देखिने उनले बताए।

प्रहरीको साप्ताहिक विवरणअनुसार उक्त अवधिमा खुम्बु क्षेत्रमा ६९ वटा हवाईजहाज र २८ वटा हेलिकोप्टर उडान भएका छन्। पर्यटकको आवागमनका लागि हवाई सेवा महत्त्वपूर्ण माध्यम रहेकाले मौसम, पर्यटकको चाप र पर्यटन सिजनको अवस्थाले उडान गतिविधिमा प्रभाव पार्ने गरेको छ।

सगरमाथा क्षेत्र नेपालको प्रमुख हिमाली पर्यटन गन्तव्य हो। सगरमाथा राष्ट्रिय निकुञ्ज, सगरमाथा आधार शिविर, नाम्चे बजार, खुम्जुङ, गोक्यो, थामे र लुक्लालगायत क्षेत्र पदयात्रा, हिमाल अवलोकन तथा पर्वतारोहणका लागि अन्तर्राष्ट्रिय पर्यटकको आकर्षणका केन्द्र हुन्।

पर्यटनविद् आङछिरिङ शेर्पाका अनुसार यस क्षेत्रमा वसन्त र शरद् गरी दुई मुख्य पर्यटकीय सिजन रहने गरेका छन्। वसन्त सिजन फागुनदेखि जेठसम्म र शरद् सिजन भदौको अन्त्यदेखि मंसिरसम्म मानिन्छ। शरद् सिजनमा असोज र कात्तिकमा पर्यटकको चाप बढी हुने भए पनि सिजन सकिँदै जाँदा तापक्रम घट्ने र मौसममा परिवर्तन आउने क्रमले पर्यटन गतिविधि प्रभावित हुने गरेको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताए।

पछिल्लो साप्ताहिक तथ्याङ्कमा खुम्बु क्षेत्रबाट बाहिरिने पर्यटकको संख्या प्रवेश गर्नेभन्दा उल्लेख्य रूपमा बढी देखिनुले शरद् पर्यटन सिजन अन्तिम चरणमा पुगेको संकेत गरेको छ। उच्च हिमाली क्षेत्रमा चिसो बढ्दै जाँदा आगामी दिनमा मौसम थप प्रतिकूल हुन सक्ने र त्यसले पर्यटकको आवागमन तथा स्थानीय पर्यटन व्यवसायमा थप प्रभाव पार्न सक्ने पर्यटन व्यवसायी तेम्बाछिरि शेर्पाको अनुमान छ।