नसालु पदार्थ खुवाएर बेहास बनाई शृंखलाबद्ध लुटपाट गरेका घटनामा संलगन रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकको अनुसार, पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९ घर भई हाल बनेपा नगरपालिका–५ बस्ने ५० वर्षीया संगिता तामाङ (कार्की), धुलिखेल नगरपालिका–१ का ३८ वर्षीय वीरध्वज तामाङ, दोलखाको बिगु गाउँपालिका–४ घर भई हाल भक्तपुर थिमी नगपालिका–४ का ४६ वर्षीय नवराज घिमिरे विक र काभ्रेको नमोबुद्ध नगरपालिका–१ घर भइ हाल बनेपा–७ बस्ने ३२ वर्षीय प्रविन सुनुवार रहेका छन्।
उनीहरूले विभिन्न व्यक्तिलाई नसालु पदार्थ खुवाएर बेहोस भएपछि लुटपाट गरेको पाइएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रहरी नायव उपरीक्षक रविन विष्टले जनाएका छन्।
उनीहरूबाट प्रहरीले सुनलगायत विभिन्न सामग्री पनि बरामद गरेको छ। उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको विष्टले बताए।















