सरकारले सहमति कार्यान्वयन नगरे आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी

Image

सरकारले यसअघि शिक्षक तथा कर्मचारीसँग गरेका सहमति कार्यान्वयनमा इमान्दारिता नदेखाएको भन्दै नेपाल शिक्षक महासंघले कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

आइतबार महासंघका अध्यक्ष सुन्दर पन्त र महासचिव तुलाबहादुर थापाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकार सहमति कार्यान्वयनप्रति जिम्मेवार नबनेको आरोप लगाएका हुन् ।

शिक्षक आन्दोलनपछि वार्ताका क्रममा शिक्षक तथा कर्मचारीका माग सम्बोधन गर्ने सहमति गर्ने तर कार्यान्वयनमा भने सरकार सधैँ उदासीन रहने गरेको महासंघको भनाइ छ । यही प्रवृत्तिका कारण शिक्षक तथा कर्मचारीले लामो समयदेखि उही माग र मुद्दाका लागि पटक–पटक संघर्ष गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ ।

महासंघले विशाल जनमतसहित गठन भएको वर्तमान सरकारले समेत शिक्षक तथा कर्मचारीका पीरमर्काप्रति संवेदनशीलता नदेखाएको आरोप लगाएको छ ।

महासंघले आफ्ना माग सम्बोधन गर्न र यसअघि भएका सहमति कार्यान्वयन गर्न सरकारसमक्ष आग्रह गर्दै सात बुँदे माग अघि सारेको छ ।

सहमति कार्यान्वयनमा ढिलाइ भइरहेमा कडा र निर्णायक आन्दोलनमा जान बाध्य हुने महासंघले चेतावनी दिएको छ । महासंघले आफ्ना मागप्रति गम्भीर बन्न सरकार तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षणसमेत गराएको छ ।