युद्ध अपराधी कारबाहीको दायरामा ल्याएरै छाड्छौं – राष्ट्रपति जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी सैनिकले कब्जा गरेको क्षेत्रमा भएको युद्ध अपराधका दोषीलाई कारबाहीको दायरामा ल्याएरै छाड्ने दृढता व्यक्त गरेका छन्।रुसी सैनिकले युक्रेनको राजधानी नजिकको बुचासहितका क्षेत्रमा ‘नरसंहार’ तथा युद्ध अपराध गरेको आरोप युक्रेनले लगाएको छ।

युक्रेनी नागरिकलाई हरेक राति गर्दै आएको आफ्नो नियमित सम्बोधनको क्रममा राष्ट्रपति जेलेन्स्कीले सोमबार अबेर राति अत्याचारका आरोपितको पहिचानका लागि अनुसन्धानकर्ताले उच्चतम प्रयास गर्ने बताएका छन्।

उनले भनेका छन्, ‘हामीले अपराधमा संलग्न रुसी सैनिकको पहिचान गर्न सम्भव भएसम्मका सबै प्रयास गरिरहेका छौँ, चाँडोभन्दा चाँडो उनीहरुको पहिचान हुन्छ।’

‘हाम्रो देश, युरोपियन युनियन र अन्तर्राष्ट्रिय निकाय विशेष गरी अन्तर्राष्ट्रिय फौजदारी अदालतको सहकार्यमा उनीहरुको पहिचानको प्रयास हुनेछ’, जेलेन्स्कीले भनेका छन्।

रुसी आक्रमणकारीले गरेको सबै अपराधहरुको जानकारी सुरक्षित गरिएको बताउँदै जेलेन्स्कीले भनेका छन्, ‘रुसी सैनिकहरुले गरेको हरेक अपराधलाई कानुनी दायरामा ल्याउन आवश्यक प्रक्रियागत कार्य पूरा गरिने छ।’

सम्बन्धित समाचार