रास्वपा नेता मुकुल ढकालले गृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछाने संविधानको धारा ७६ (३) अन्तर्गतको सरकार बन्ने र ‘फेरि खाउँला’ भनेर सरकारमा टाँसिरहेको आरोप लगाएका छन् ।
रास्वपाले कारबाही गरे पनि बुधबार पत्रकार सम्मेलनमार्फत आफ्नो कुरा राख्दै उनले त्यस्तो आरोप लगाएका हुन् ।
‘आजको रविलाई प्रचण्डको शैली मन पर्छ । कता न कता ओलीको शैली मन पर्छ । र अझै पनि ७६ (३) अन्तर्गत देउवाको सरकार बन्ला कि ! अनि सरकारमा जान पाइएला कि भनेर उहाँ सरकारमा अहिले पनि टाँसिराख्नुभएको छ । भनेपछि देउवाको शैली पनि उहाँलाई मन पर्छ’, उनले भने, ‘देउवा, प्रचण्ड र ओलीको शैली मन पर्नेलाई मुकुल ढकालको शैली बालपना लाग्न सक्छ। मलाई मतलब छैन ।’
बरु राजीनामा दिन बालुवाटार पुगेर पनि फेरि राजीनामा पत्र गोजीमै बोकेर फर्किनुलाई सभापति लामिछानेको बालापना भएको उनले आरोप लगाए । उनले लामिछानेले सहकारीमा आरोप लागेजस्तै आर्थिक गतिविधि पार्टीभित्र पनि गरिरहेको बताएका छन् ।
लामिछानेले पार्टीभित्र अपारदर्शी आर्थिक क्रियाकलाप जारी राखेको बताए । ‘रवि लामिछानेले सहकारी मात्र होइन पार्टी पनि ठगेका छन्,’ उनले भने ।
उनले ऋण छ भनेर पार्टी कोषबाट लैजाने काम भएको भन्दै केन्द्रीय समितिको निर्णयबिना कुनै ऋण वा लगानी गर्न नपाउने बताए । उनले पार्टीका जिम्मेवार पदाधिकारीलाई कुनै भुक्तानी नदिन भन्दै पारदर्शी रूपमा हरहिसाब राखेर मात्र खर्च गर्ने व्यवस्था गर्न आग्रह गरेका छन् ।













