नेकपा एमालेले पार्टीका प्रत्येक सदस्यले अनिवार्य रूपमा प्रत्येक वर्ष दीक्षित हुनुपर्ने निर्णय गरेको छ । सचिवालय बैठकले वार्षिक १८ बुँदे कार्ययोजना पारित गर्दै प्रत्येक वर्ष हरेक पार्टी सदस्यले पार्टीका कुनै न कुनै स्कूलमा भाग लिनुपर्ने निर्णय गरेको हो ।
शुक्रबार बैठकपछि महासचिव शंकर पोखरेलले पार्टी हरेक सदस्य अब प्रत्येक वर्ष कुनै न कुनै पार्टी प्रशिक्षणबाट दीक्षित हुनुपर्ने बताएका हुन् ।
‘हामीले एमालेलाई बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने मिसन ८४ मा बहुमत प्राप्त गर्ने गरी सबै कमिटीले योजना बनाउने निर्णय गरेका छौं,’ बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पोखरेलले भने, ‘यसको लागि नयाँ पुस्तामा पार्टी कामको विस्तार तथा जनसम्बन्ध विकासमा जनसंगठन परिचालन गर्ने निर्णय भएको छ । साथै पार्टी स्कूल सञ्चालनलाई अभियानको रूपमा चलाउने र प्रत्येक वर्ष पार्टीका सबै सदस्य कुनै न कुनै स्कूलमा भाग लिनैपर्ने निर्णय गरेका छौं ।’
बैठकले सदस्यता नवीकरण, विस्तार र अभिलेखिकरण गर्ने, नियमित अधिवेशन आयोजना र व्यवस्थापन (कात्तिकभित्र बाँकी जिल्ला कमिटी र मंसिरभित्र सबै कमिटीको अधिवेशन आयोजना गरिसक्ने) जनाएको छ ।
त्यस्तै अरु पार्टीबाट प्रवेश गरेका तथा अधिवेशनहरूमा पराजित भएका नेता कार्यकर्तालाई ३ महिनाभित्र यथोचित जिम्मेवारी दिइसक्ने पनि पोखरेलले बताए ।
कार्यकर्ताको कामको मूल्यांकन गर्ने विधि बसाल्ने, पार्टी कमिटी परिचालन र अन्तरविरोध व्यवस्थापनको प्रणाली बसाउने, सरकार र जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउने कार्ययोजना पनि ल्याएको छ ।