सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका रवि लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासमा पेश गरिने भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धानका लागि पक्राउ परेका लामिछानेलाई अदालतमा उपस्थित गराउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद अनुमतिका लागि दाहालको इजलासमा पेश हुने सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
नियमित प्रक्रिया अनुसार अपराह्न २/३ बजेतिर प्रहरीले म्याद थपका लागि थुनुवालाई अदालतमा ल्याउने भएकाले सोही समयमा लामिछानेलाई पनि म्याद थपका लागि अदालतमा पेश गर्ने संभावना रहेको उनले बताए ।
गत शुक्रबार साँझ काठमाडौंमा पक्राउ परेका लामिछानेलाई सोही दिन राति नै पोखरा लगिएको थियो ।














