प्रतिनिधि सभाले राष्ट्रिय सभालाई हान्यो १३ गोल

Image

संघीय संसद् सेवा दिवसको अवसरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाबीच फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

मंगलबार भृकुटिमण्डपस्थित फुटसलमा आयोजित प्रतियोगितामा प्रतिनिधि सभाको टोलीले १३–० गोलले जित हात पारेको हो । प्रतियोगितामा सबैभन्दा धेरै प्रतिनिधिसभा सदस्य मोहन आचार्यले पाँच गोल गरे । त्यसैगरी तारा लामाले तीन, माधव सापकोटा र सुहाङ नेम्वाङले समान दुई र मनिष झाले एक गोल गरे ।

प्रतियोगिताको पहिलो हाफमा प्रतिनिधिसभाले ९ गोलको अन्तर कायम गरेको थियो । दोस्रो हाफमा थप चार गोल गरेपछि प्रतिनिधिसभाको टोली १३ गोल अन्तरले विजयी भयो ।

प्रतिनिधिसभा टिमको नेतृत्व सभामुख देवराज घिमिरे र राष्ट्रियसभा टिमको नेतृत्व अध्यक्ष नारायणप्रसाद दाहालले गरेका थिए । प्रतिनिधिसभाको टिममा उपसभामुख इन्दिरा राना तथा सांसदहरु मोहन आचार्य, माधव सापकोटा, मनिष झा, निशा डाँगी, बिना लामा, तारा लामा तामाङ, सुहाङ नेम्वाङलगायत थिए । राष्ट्रियसभा टिममा उपाध्यक्ष विमला घिमिरे, सांसदहरु धनश्याम रिजाल, विष्णुकुमारी सापकोटा, पदमबहादुर परियार, भगवती न्यौपाने, तुलसाकुमारी दाहाल, गोपीबहादुर सार्की अछामी, नरबहादुर विष्टलगायत सांसदहरु थिए ।

यसैबीच, आजै संसद् सेवाका कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मी (मर्यादापालक) को बेग्लाबेग्लै टिमबीच पनि मैत्रीपूर्ण फुटसल भइरहेको छ । संसद् सेवा दिवस मङ्सिर २८ गते विभिन्न कार्यक्रम गरी मनाईँदैछ ।