पाकिस्तानलाई हराउँदै नेपाल एसिया कपको सुपर ४ मा

Image

नेपाल यू-१९ महिला टी–२० एसिया कपको सुपर ४ मा प्रवेश गरेको छ। मलेसियामा जारी एसिया कपको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई पराजित गर्दै नेपालले समूहको अन्तिम खेलअघि नै सुपर–४ मा स्थान सुरक्षित गरेको हो।

समूह ‘ए’मा नेपालसहित भारत र पाकिस्तान छन्। पाकिस्तान आफ्ना दुवै खेलमा पराजित भएर बाहिरिएसँगै नेपाललाई सुपर-४ को ढोका खुलेको हो। नेपालले पाकिस्तानमाथि ऐतिहासिक जित हात पार्‍यो।

नेपालको जितमा पूजा महतोले कप्तानी पारी खेलिन्। खेलको प्लेयर अफ दि म्याच समेत घोषित पूजाले नटआउट ४७ रन जोडिन्। उनले ४७ बलको सामना गर्दै ३ चौकाको मद्दतमा अविजित पारी खेलेकी हुन्।

नेपालका लागि सर्वाधिक २ विकेट पनि उनैका नाममा रह्यो। पूरै ४ ओभर बलिङ गर्दा उनले २७ रन खर्चिएर महत्त्वपूर्ण २ विकेट हात पारेकी हुन्।

पहिले ब्याटिङ गरेको पाकिस्तानले ५ विकेटको क्षतिमा १०४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले २३ रन बनाउँदा ओपनर सावित्री धामी आउट भएपछि कप्तान महतो ब्याटिङमा आएकी थिइन्।