सुदूरपश्चिमविरुद्ध पाँच विकेटको जितसहित जनकपुर बन्यो एनपीएल च्याम्पियन 

फाइनलमा लियो समूह चरण र पहिलो क्वालिफायरको बदला

Image

ओपनर लहिरु मिलान्थाको उत्कृष्ट ब्याटिङप्रेरित जनकपुर बोल्ट्सले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ ।

उपाधिसँगै जनकपुरले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । उपविजेतामा चित्त बुझाएको सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

सुदूरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको बदला फाइनलमा लिँदै जनकपुर च्याम्पियन बनेको हो ।बलिङमा सुरुमा रन खर्चिए पनि पुनरागमन गर्दै सुदूरपश्चिमलाई १८४ रनमै रोकेपछि जनकपुरले जवाफमा उत्कृष्ट ब्याटिङ गर्दै खेल जितेको हो ।

जनकपुरलाई उपाधि दिलाउने क्रममा ओपनरद्वय लाहिरु मिलान्था र आशिफ शेखले पहिलो विकेटका लागि महत्वपूर्ण ७३ रनको साझेदारी गरे । जनकपुरको जितमा मिलान्थाले आक्रामक अर्धशतकीय पारी खेले । उनले ४९ बल खेल्ने क्रममा चार छक्का र नौ चौकाको सहयोगमा ८७ रन बनाए । आशिफ शेखले १९ बल खेल्ने क्रममा चार चौका र दुई छक्कासहित ३३ रनको योगदान दिए । हर्ष थाकरले २४ बल खेल्दै दुई छक्काको साहरामा ३० रन बनाए । साथै मोहम्मद मोहसिनले नौ र जिमी निशमले चार, आकाश त्रिपाठीले दुई र मयन यादवले दुई रन बनाए ।

सुदूरपश्चिमका लागि सैफ अलि जेब, इशान पाण्डे, दीपेन्द्र सिंह ऐरी र स्कट कुग्गेलेइनले समान एकरएक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । उसका लागि ओपनरद्वय सैफ अलि जेब र बिनोद भण्डारीले शानदार सुरुआत दिलाए । उनीहरुले पहिलो विकेटका लागि एक सय १७ रनको साझेदारी गरे । सैफ अलि जेब अर्धशतकीय पारी खेले । उनले ४३ बल खेल्ने क्रममा आठ चौका र दुई छक्काको साहरामा ६९ रन बनाए । साथै बिनोद भण्डारीले ३१ बल सामना गर्दै एक चौका र तीन छक्कासहित ४१ रन बटुले ।

साथै ब्राण्डन म्याक मुलेन र हर्मित सिंहले समान १४ रन बनाए भने स्कट कुग्गेलेइनले १३ रन बटुले । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले तीन/तीन विकेट लिए भने जिमी निशम र ललित राजवंशीले एक/एक विकेट लिए ।