ललितपुरको नख्खु करिडोर क्षेत्रमा अत्यधिक धुलो र गन्धका कारण स्थानीयले सास्ती बेहोर्नु परेको छ। असोज १२ गते शनिबार नख्खु खोलामा आएको बाढीका कारण करिडोर भत्किएपछि धुलोको समस्या बढेको हो।
बाढीले भत्काएको बाटो बनाउन महानगरपालिकाले सामान्य पहल गरे पनि सहज रूपमा हिँड्न सक्ने अवस्थामा छैन । पानी पर्दा हिलो, नपर्दा धुलो उड्ने भएकाले सडकको प्रयोग गर्नेहरुले दुःख पाइरहेका छन् । धुलो मात्र होइन नख्खु खोलाबाट आउने दुर्गन्धले झनै असर गरेको स्थानीयहरू बताउँछन् ।
बाढीले क्षति गर्नुअघि रोडा, ढुङ्गा र बाटो बोक्ने टिप्परले दुःख दिएको स्थानीयले गुनासो गर्दथे । अहिले पनि टिप्परको आतङ्क जस्तै भएको गुनासो स्थानीयहरूले गर्न थालेका छन् । बाढीले क्षति गरेर जीर्ण बनेको सडकमा धेरै तौल बोक्ने टिप्पर निरन्तर दौडिँदा सडक झनै कमजोर बनेको स्थानीयहरू बताउँछन् ।
सडकबाट हिँड्नै नसक्ने भए पनि बाध्यताले हिँड्नु परिरहेको उनीहरूको गुनासो छ । सरकारले आवश्यक चासो नदिँदा स्थानीयहरूले मार खेपिरहेको उनीहरूको गुनासो छ । सरकारले आइतबारमात्रै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकबाट गत असोजमा काठमाडौं लगायतका क्षेत्रमा आएको बाढी, पहिरोको क्षतिको विस्तृत मूल्याङ्कन (डिडिए) गर्ने निर्णय गरेको छ ।
साथै डिडिए सम्पन्न भइसकेका क्षेत्रहरूमा सरकारले बनाएको मापदण्डअनुसार पुनर्निर्माणको काम तत्काल प्रारम्भ गर्ने निर्णय गरेको छ । यद्यपि कहिलेसम्म पुनर्निर्माण सकिन्छ त्यो भने हेर्न बाँकी छ ।
बाढीले क्षति गरेको स्थानीयको बस्ती, बस्तीसम्म जाने बाटो सबै खराब छ । गत असोजको ११ गते रातिबाट परेको अविरल वर्षापछि आएको बाढीले नख्खु तटीय बस्ती डुबानमा परेको थियो । त्यसबाट खानेपानी, ढल, बिजुलीको पोल र बाटोमा गरेको क्षतिको अझै मर्मतसम्भार हुन सकेको छैन ।
















