वसन्ते मकैखेतीले बढायो किसानमा उत्साह : एउटै बोटमा तीन-चार घोगा

Image

बेलडाँडी गाउँपालिका–३ बैवाहाका खडकबहादुर चौधरीले पाँच वर्षदेखि वसन्ते मकैखेती गर्दै आएका छन् । वर्णशङ्कर (हाइब्रिड) १२०८ जातको मकैखेतीबाट उनले चार महिनामा ३० हजारदेखि ७० हजार रुपैयाँसम्म आम्दानी गरेका छन् । पाँच कट्ठा जग्गामा लगाएको मकैको एउटै बोटमा तीनदेखि चारवटासम्म घोगा लाग्छ ।

उन्नत जातको तुलनामा वर्णशङ्कर जातको मकैखेती गर्दा २५ देखि ३० प्रतिशत बढी उत्पादन हुने गरेको छ । फागुनको पहिलो हप्तामा रोपिएको मकै जेठमा तयार हुन्छ, किसान चौधरीले बताए । हरियो मकै खेतबाटै १० देखि १५ रुपैयाँमा बिक्री हुन्छ। हरियो नबिकेपछि पाकेको मकै बिक्री गरिन्छ ।

मकैको डाँठ मेसिनमा काटेर बाख्रा, बङ्गुर, भैँसीलाई भुसासँग मिसाएर खुवाइन्छ, शङ्कर चौधरीले बताए । बैवाहाका १५ भन्दा बढी किसानले चारदेखि सात कट्ठा जग्गामा वसन्ते मकैखेती गरेका छन् । 

मकै उत्पादनपछि धान रोप्ने भएकाले छोटो समयमा तयार हुने मकैखेतीलाई प्राथमिकता दिइएको छ । कुनै किसानले १२८०, कुनैले अरुण–२, अरुण–६ जातको मकैखेती गरेका छन् । 

‘पाँच कट्ठा जग्गामा गरेको मकैखेतीबाट गत वर्ष ८० हजार रुपैयाँ आम्दानी भयो,’ रामलाल चौधरीले भने, ‘छोटो समयमा अपेक्षाभन्दा बढी आम्दानी भएकाले यस वर्ष पनि मकैखेतीलाई निरन्तरता दिएका छौँ ।’ वसन्ते मकैखेती गर्ने अधिकांश किसानले बाख्रापालन गरेका छन् । 

किसानका घरमा १० देखि २२ वटासम्म बाख्रा पालिएका छन् । बाख्रापालन र सिँचाइका लागि बोरिङ जडान गर्न सृजनशील सहकारीबाट ऋण लिइएको छ। बाख्रापालक किसानले खसी, बोका बिक्री गरेर धेरैले ऋण तिरिसकेका छन् । केहीको अन्तिम किस्ता बाँकी छ । बाख्रापालक किसानले गहुँको भुसासँग मकैको हरियो डाँठलाई चारोको रूपमा प्रयोग गर्छन् ।

मकैका बोट निश्चित दूरीमा रोपिएकाले गोडमेल, सिँचाइ, मलखाद छर्न र झारपात व्यवस्थापन गर्न सजिलो हुन्छ । रोग र कीराको रोकथामका लागि किसानले कृषि प्राविधिकसँग सल्लाह लिन्छन् । वसन्ते मकैखेतीबाट राम्रो आम्दानी हुने भएकाले थप जग्गामा खेती गर्न किसान उत्साहित छन् ।