लामो रस्साकस्सीपछि प्रधानमन्त्री केपी शर्मा ओली गभर्नर नियुक्तिमा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको प्रस्ताव मान्न बाध्य भएका छन् । बजेटसम्म आलटाल गर्ने योजनामा रहेका प्रधानमन्त्री ओलीलाई काँग्रेसले गभर्नर नियुत्तीको विषय सत्ता साझेदारीकै सर्त बनाएपछि तत्काल देउवाको प्रस्ताव मान्न ओली तयार भएका हुन । बालुवाटारमा मंगलबार भएको निर्णायक भेटपछि प्रधानमन्त्री देउवाले पहिलो व्यक्तिको नाममा प्रस्ताव गरेको विश्व पौडेललाई नै नियुक्त गर्न तयार भएको स्रोतको दाबी छ ।
काँग्रेसले आजै पौडेललाई गभर्नर बनाउन ४८ घण्टे अल्टिमेटम दिँदै गठबन्धनबाट समर्थन फिर्ता लिन सक्ने चेतावनी दिएको थियो । स्रोतका अनुसार प्रधानमन्त्री ओलीको अडान थियो- संयुक्त सरकारले ल्याउने बजेटको काँग्रेसले निसर्त रूपमा स्वामित्व लिनुपर्छ, त्यसपछि मात्र गभर्नरको टुङ्गो लाग्छ ।तर देउवाले बजेटबारे सहमति गर्नेसँगै गभर्नरमा पौडेलबाहेक अर्को नाम स्वीकार्य नहुने कडा अडान राखेपछि ओली पछि हटेका हुन्। ओलीले कानुनी झमेला हुन सक्ने भन्दै पौडेलभन्दा गुणाकर भट्टलाई अघि बढाउँदा के हुन्छ भनेका थिए । तर, देउवाले ओलीको कुरा खस्न नपाउँदै “पौडेल नभए अर्का कोही हुँदैनन्,” भन्ने अडान दोहोर्याएपछि प्रधानमन्त्रीलाई निर्णयमा बाध्य बनाएको नेपाली काँग्रेसका एक पदाधिकारीले बताए ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष रहेका पौडेल काँग्रेस निकट विज्ञको रूपमा चिनिन्छन् । उनी गत निर्वाचनमा रास्वपाका उम्मेदवार हरि ढकालसँगै चितवन क्षेत्र नम्बर १ बाट पराजित भएका थिए । सत्ता गठबन्धनभित्रको यो सहमति तत्कालको सन्तुलनका लागि भए पनि आगामी दिनमा बजेट र नीति निर्धारणमा काँग्रेसको भूमिका कस्तो रहन्छ भन्नेमा चासो देखिएको छ । गभर्नर नियुक्तिले राष्ट्र बैङ्कमा रिक्त नेतृत्व पद भरिने भए पनि पौडेलको भूमिकामा कानुनी विवादको छायाँ भने रहने निश्चित छ ।