नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिएर नैतिकता देखाउन सुझाव दिएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि राजीनामा दिन सुझाव दिएका हुन् ।
उनले नैतिकताको आधारमा राजीनामा दिएर छानबिनमा सघाउनु नै उपयुक्त भनाइ राखे । उनले भने, ‘रमेशजीले नैतिकताको हिसाबमा म क्लिन छु, मैले राजीनामा गरे । छानबिन समिति बनाउनुस् गर्नुहोस्, भने भइहाल्यो नि । त्यसले मोरल स्ट्याटस देखिन्छ ।’
उनले विगतमा पनि केही मन्त्रीहरुले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजीनामाा दिंदा उनकै नैतिकता सघाउ पुग्ने बताए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रालयमातहतका कर्मचारी, गृहमन्त्री लेखककाे सचिवालयमै कार्यरत कर्मचारीकाे संलग्नताकाे आरोप लागिरहेकाे छ । जसमा गृहमन्त्री लेखकमाथि समेत प्रश्न उठिरहेका बेला कोइरालाले यस्तो सुझाव दिएका हुन् ।














