एनआरएनए अष्ट्रेलियाको आगामी जुलाई २६ मा हुने निर्वाचनमा दक्षिण अष्ट्रेलिया राज्य संयोजक पदका लागि समाजसेवी थिर गुरुङले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। १८ वर्षदेखि अष्ट्रेलियामा बसोबास गर्दै आएका गुरुङ एनआरएनए अष्ट्रेलियाका वर्तमान सचिव समेत हुन् ।
लामो समयदेखि नेपाली समुदायसँग जोडिएर सामाजिक सेवामा सक्रिय गुरुङले पारदर्शिता, जवाफदेहिता र समावेशीतालाई मूलमन्त्र मानेर नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “एनआरएनए कुनै व्यक्ति विशेषको संस्था होइन हामी सबैको साझा घर हो”, गुरुङले भने ‘पद भनेको सेवाको माध्यम हो, नेतृत्व भनेको सहकार्य र विश्वास हो।’
उनको कार्यसूचीमा सामुदायिक हल स्थापनाका लागि पहल, दोस्रो पुस्ताका नेपाली बालबालिकाको प्रतिभा उजागर गर्ने कार्यक्रम, विद्यार्थी सहयोग, आपतकालीन सहायता, नेपाली खेलकुद तथा व्यवसायिक क्षेत्रसँग सहकार्यको प्रवर्द्धन जस्ता विषय समावेश छन्। साथै, उनले एनआरएनएको गतिविधि र इतिहासलाई समेट्ने पुस्तक प्रकाशन गर्ने योजनासमेत अघि सारेका छन्।
उनले सबै दक्षिण अष्ट्रेलियावासी नेपालीहरूलाई एकतामा बाँधिँदै समुदायको हितमा लाग्न आह्वानसमेत गरेका छन्। गुरुङले आफूले घोषणा गरेको उम्मेदवारीमा साथ, समर्थन र विश्वासको अपेक्षा राखेका छन्।














