साईग्रेस पोखरेलले ल्याए पुस्तक ‘द स्टोरीटेलर’

Image

चर्चित कथा वाचक साईग्रेस पोखरेलले आफ्नो कथा वाचन यात्रा र यस क्षेत्रमा हासिल गरेका उपलब्धिहरूलाई समेटेर नयाँ पुस्तक ‘साईग्रेसस् द स्टोरीटेलर’ सार्वजनिक गरेका छन् । यो विमोचन उनको १००औँ लाइभ प्रस्तुतिसँगै संयुक्त राज्य अमेरिकाको कोलोराडोमा सम्पन्न भएको हो ।

पुस्तक विमोचन समारोहमा नेपाली साङ्गीतिक क्षेत्रका हस्ती एवं लेखक हिरण्य भोजपुरे, अमेरिकाका लागि नेपालका सद्भावना दूत विनोद अधिकारी, ग्लोबल नेपाल फिल्म अवार्ड अमेरिकाका अध्यक्ष नवराज श्रेष्ठ, ख्यातिप्राप्त सङ्गीतकार मनोजराज सिवाकोटी र कोलोराडो कार्यक्रमका आयोजक सुमन केसी लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

‘साईग्रेसस् द स्टोरीटेलर’ पुस्तकले कथा वाचनको विश्वव्यापी इतिहासका साथै साईग्रेसका विश्वभरका प्रस्तुतिहरूका अविस्मरणीय क्षणहरूलाई प्रस्तुत गरेको छ । यसले उनको कथा वाचनले दर्शकहरूमा पारेको गहिरो प्रभावको पनि विश्लेषण गरेको छ । पुस्तकको एक प्रमुख आकर्षण उनको बहुचर्चित अडियो उपन्यास ‘मेरो अधुरो प्रेम’ हो, जुन युट्युबमा हालसम्म ६६ लाख पटक हेरिएको छ ।