बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु

Image

 बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार निसीखोला गाउँपालिका–३ मा आइतबार बिहान घरमाथिबाट अचानक खसेको पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको हो।

पहिरोमा परी ३९ वर्षीया श्यामकुमारी विक, उनका १२ वर्षीय छोरा मनोज विक, ९ वर्षीय मुकेश विक र ५ वर्षीय निसन विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरका अनुसार बिहान करिब ४ देखि ५ बजेको समयमा घरमाथिबाट पहिरो खसेको थियो। पहिरोले घर पुरिएपछि उनीहरू त्यसमा परेका थिए।

यसैबीच, निसीखोला–३ कै एङवेङमा जंगबहादुर खड्काको बाख्राको खोरसमेत पहिरोमा परेको छ। खोरमा रहेका २५ बाख्रामध्ये आठवटालाई पहिरोले बगाएको जनाइएको छ।

घटनापछि स्थानीय, प्रहरीलगायतको सहयोगमा उद्धार तथा आवश्यक व्यवस्थापनको काम भइरहेको छ।