इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकासँगको वार्तामाथि अब विश्वास नरहेको बताएका छन् । वार्ताका अघिल्ला चरणपछि पनि इरानमाथि आक्रमण र प्रतिबन्ध जारी रहेकाले अमेरिकी पक्षप्रति विश्वास गर्ने आधार नरहेको उनले अलजजिरालाई बताएका हुन् ।
“हामीलाई अमेरिकी पक्षप्रति कुनै विश्वास छैन र उनीहरूसँग कुन आधारमा समझदारी हुनसक्छ भन्ने हामीलाई थाहा छैन,” उनले अन्तर्वार्तामा भनेका छन् ।
युद्ध अन्त्यका निम्ति इरानले पेस गरेको पछिल्लो प्रस्तावमा अमेरिकी जवाफको प्रतीक्षा भइरहेका बेला उनको यस्तो भनाइ आएको हो ।
पेजेस्कियान र इरानी विदेशमन्त्री अब्बास अराघची संयुक्त राष्ट्रसंघीय महासभाका निम्ति यसै साता अमेरिका पुगेका थिए । उनीहरूले अमेरिका–इजरायलसँगको युद्ध अन्त्य गर्ने र सात दिनभित्र होर्मुज जलमार्ग पुनः खोल्ने प्रस्ताव गरेका थिए ।
अमेरिकाले इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी हटाउनुपर्ने, तेल बिक्रीमा लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने, रोक्का गरिएको करिब १२ अर्ब डलरको इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने तथा लेबनान र यमनसहित क्षेत्रीय युद्धविराम पालना गर्नुपर्ने प्रस्ताव थियो । त्यसको बदलामा इरानले होर्मुज जलमार्ग पुनः खोल्ने जनाएको छ ।
पेजेस्कियानले कतार र पाकिस्तानले इरानका सन्देश अमेरिकासम्म पुर्याइरहेको बताए । उनले होर्मुज बन्द हुनुमा इरान जिम्मेवार रहेको अमेरिकी दाबी अस्वीकार गरे । यसलाई अमेरिकाले इरानका ‘अगाडिका बाटाहरू बन्द’ गरेपछिको ‘स्वाभाविक प्रतिक्रिया’ भएको उनले बताए ।
अमेरिकालाई द्वन्द्वको सुरुआतकर्ता भन्दै उनले इरानले ‘२०० वर्षयता कुनै पनि देशमाथि आक्रमण नगरेको’ जिकिर समेत गरे ।














