पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको कारण आफूको राजनीतिमा फर्कने विषयलाई अनावश्यक विवाद बनाइएको बताएकी छन्।
शुक्रबार काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले राष्ट्रपति पदको जिम्मेवारी पूरा गरेर आफ्नै पार्टीमा फर्कनु स्वाभाविक रहेको बताइन्।
‘मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पर्नुपर्ने विषय नै होइन,’ भण्डारीले भनिन्, ‘म राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति निर्वाचित भएकी हुँ। राष्ट्रपतिको कार्यकाल पूरा गरेर आफ्नो पार्टीमार्फत देश र जनताको सेवा गर्नु कुनै अनौठो कुरा होइन।’
उनले पार्टी राजनीतिमा फर्किनु संवैधानिक अधिकार भएको दाबी गर्दै भनिन्, ‘यो अधिकारमात्र होइन, बरु पार्टीको नेताकै रूपमा राजनीतिबाट राष्ट्रपति बनेको हुँ। अब बाँकी जीवन पनि पार्टीमार्फत जनसेवामा समर्पित गर्ने निर्णयमा पुगेकी छु।’
भण्डारीले राष्ट्रकै सर्वोच्च पद सम्हालिसकेकी भएकाले कुनै पदप्रतिको लोभ नभएको स्पष्ट पारिन्। ‘कुनै पदप्रति लालसा, महत्वाकांक्षा वा आशक्ति ममा छैन,’ उनले भनिन्, ‘किनकि राष्ट्रकै सर्वोच्च पदमा पुगेर आफ्नो नाम इतिहासमा दर्ज गरिसकेकी छु।’
भण्डारीको सक्रिय राजनीतिमा फर्किने निर्णयलाई लिएर पार्टीभित्र र बाहिर आलोचना भइरहेको बेला उनले पत्रकार सम्मेलनमार्फत आफ्ना भनाइ सार्वजनिक गरेकी हुन्।














