बागलुङ सेवा समाज कतारले त्यहाँ रहेका नेपाली आप्रवासी मजदुरहरूलाई ‘अक्षय कोष’को नाममा ठगी भएको खुलेको छ। ‘जिल्लाको शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्ने भन्दै संस्था नै दर्ता नगरी लाखौं रुपैयाँ संकलन गरेको, सङ्कलित रकम निजी खातामा जम्मा गरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको भेटिएको छ । कतारमा कार्यरत नेपाली मजदुरहरूसँग गत ६ महिनादेखि पैसा उठाउँदै आएको यो समूहले संस्था नै दर्ता नगरी विभिन्न बाहानमा पैसा उठाउने गरेको पुष्टि भएको छ। सोही समूहले केही महिना पहिले बागलुङ सेवा समाज कतारको नाममा ‘अक्षय कोष’ स्थापनाको प्रचार गरेको थियो। संस्था दर्ताबिनै अक्षयकोषभन्दै सोझा सिधालाई भ्रममा पारेर उठाएको पैसा समूहले निजी खातामा राखेर निजी काममा खर्च गरेको तथ्य टिभी अन्नपूर्णले प्राप्त गरेको छ । क्युवार कोड देखाएर अक्षय कोष भन्दै व्यक्तिगत खातमा जम्मा गरेको रकम संस्था दर्ताको प्रक्रिया नै सुरु नहुँदै निजी काममा खर्च गर्न थालेपछि अक्षयकोषमा पैसा कबोल गरेकालाई शङ्का मात्रै उब्जिएको छैन, यसले समूहको नियतमाथि शङ्का पैदा गरेको छ । पहिलो त कानुनी हैसियत बिनै पैसा उठाउनु आफैमा अपराध हो ।
त्यसमाथि उठाएको पैसा व्यक्तिगत खातामा राख्ने र त्यसको खर्चसमेत व्यक्तिगत हिसाबले गरेको भेटिएपछि यसलाई धेरैले आर्थिक अपचलन र सङ्गठित अपराधकै योजनामा सक्रिय गिरोहको संज्ञा दिन थालेका छन् । जिल्लाको विकासका लागि भन्दै प्रवासका नेपालीबाट उठाएको लाखौं रकम गिरोहले ग्लोबल आइएमई बैङ्कको खाता नम्बर ०३३०७०१२९१७६४३ मा जम्मा गरेको छ । यो खाता कुनै सेवा समाज वा अक्षय कोषको नभई व्यक्तिगत खाता हो। सोही खातामा हालसम्म कतारका नेपालीले १६ लाख रुपैयाँभन्दा बढी जम्मा गरेका छन् । अझै रोचक त अक्षय कोषका लागि भनेर उठाएको रकम व्यक्तिगत खातामा जम्मा गरि यसलाई झिकेर व्यक्तिगत कामकै लागि खर्च समेत गरिएको छ । हाल १२ लाख ७८ हजार ८ सय ९९ रुपैयाँ रहेको त्यो खातामा अक्षयकोषका निम्ति भन्दै कतारका नेपाली मजदुरले १६ लाख बढी जम्मा गरेका थिए । उनीहरूले जम्मा गरेको रकममध्ये यो खाताबाट विभिन्न चरणमा पैसा झिकेर खर्च समेत भएको छ ।
पछिल्लो पटक यो खाताबाट अक्षय कोषका लागि भन्दै कतारमा रहेका मजदुरबाट उठाएको रकममध्ये बलेवाका सन्तोष पौडेलले दुई पटकसम्म झिकेको देखिन्छ । उनले आफ्नो व्यक्तिगत खातामा पैसा हाल्न लगाएर एक पटक १ लाख र अर्को पटक ६६ हजार झिकिसकेको प्रमाण बैङ्क विवरणमा देखिन्छ। सार्वजनिक सेवा अभियानसँग मेल खाने खालको प्रकृति नै नभएको यो खातामा रकम जम्मा गर्ने र झिक्ने दुवै ठगी भर्एको त्यहाँका नेपाली बताउँछन् । कोषको नाममा उठाइएको रकम निजी खातामा जम्मा गरी त्यसबाट व्यक्तिगत खर्च गरिएको देखिनुले कोषको नाममा चलाइएको अभियान आम प्रवासका नेपालीलाई झुक्काएर पैसा उठाउने योजना भएको प्रष्ट छ । अवैध कारोबारबारे टिभी अन्नपूर्णले राखेको जिज्ञासापछि मात्रै जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ताको निवेदन दिन पुगेको यो समूहले, कतारमा रहेका नेपालीहरूबाट भने धेरै समय पहिलेदेखि यसरी नै पैसा उठाउन थालेको त्यहाँका नेपाली बताउँछन् । कहिले बाढी पहिरोको नाममा त कहिले स्थानीय समस्यामा परेकालाई सहयोग गर्नेभन्दै पैसा उठाए पनि उनीहरूले यसको पारदर्शी वितरण भने गरेका छैनन् ।
नेपालको प्रचलित कानुनअनुसार, सार्वजनिक प्रयोजनका लागि चन्दा सङ्कलन गर्न चाहने संस्थाले समाज कल्याण परिषद्बाट अनुमति लिनुका साथै कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता हुनु अनिवार्य हुन्छ। तर अक्षय कोष नाम दिइएको अभियानमा तीमध्ये कुनै कानुनी प्रक्रिया पूरा गरिएको छैन । आफूलाई ‘अक्षय कोष’को परिकल्पनाकारका रूपमा चिनाउने गैरआवसीय नेपाली सङ्घ ९एनआरएनए० का नेता रमेश भट्ट भने संस्थाले अहिलेसम्म पैसा नउठाएको दाबी गर्छन्। टिभी अन्नपूर्णसँगको कुराकानीमा भट्टले संस्था दर्ता प्रक्रिया सुरु गरिएको तर कुनै आर्थिक सङ्कलन नभएको बताए। उनले जिल्लाको प्रशासनिक लापरबाहीले दर्ता प्रक्रिया रोकिएको थाहा पाएपछि बागलुङका मेयर वसन्त श्रेष्ठ र उपमेयर राजु खडकालाई समेत फोन गरेर सहयोगका लागि दबाब दिएको बताए । तर भट्टकै परिकल्पनामा चलेको भनिएको अभियानबाट कतारमा रहेका मजदुरहरूसँग १६ लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भइसकेको तथ्यमा भने उनले छिपाउन खोजेका छन् । रकम सन्तोष पौडेल र नीराजन गौतमको निजी खातामा जम्मा गरिएको, र त्यसैबाट विभिन्न चरणमा रकम झिकेर खर्च भइसकेको यथार्थमाथि भट्टले कुनै टिप्पणी नगर्ने बताए ।
यसरी संस्थाको परिकल्पना गर्दै कानुनी प्रक्रिया अघि बढाएको भनिए पनि, संस्थाका नाममा होइन, निजी रूपमा रकम सङ्कलन भइरहेको देखिनुले भट्टको दाबीमाथि नै प्रश्न उठेको छ। समूहले विश्वास जित्न ‘अक्षय कोष’को घोषणा व्यवसायी चन्द्र ढकालमार्फत गराएको थियो। कतारमै आयोजित कार्यक्रममा ढकाललाई प्रमुख अतिथि बनाउँदै अभियान सुरु गरिएको थियो। ढकाललाई १५ लाख सहयोग गर्ने कबोलसमेत गरिएको थियो। तर कोषको कानुनी हैसियतबारे थाहा पाएपछि ढकालले कानुनी प्रक्रिया पुरा गरेपछि मात्रै पैसा जम्मा गर्ने भनेका छन् । ढकालको नाम देखाएर विश्वसनीयता बनाउने समूहको रणनीति कतारमा रहेका मजदुरहरूलाई प्रभाव पार्ने र सहयोग जुटाउने प्रमुख हतियार बनेको थियो । चन्द्र ढकालले आफैले पैसा हाल्ने भन्दै अक्षय कोषको घोषणा गरेपछि कतारमा रहेका नेपालीहरू यो समूहको विश्वासमा परेर पैसा बुझाउन मन्जुर भएका थिए । सोही अनुसार कतारस्थित नेपालीहरूसँग अक्षय कोषको भन्दै सिधै कोड स्क्यान गराएर पैसा उठाएका थिए । तर अक्षय कोषको भन्दै स्क्यान गरेको बैङ्कको क्युआर कोडबाट निजी खातामा रकम गएको बारे धेरै पछि थाहा पाएको दाताहरूको गुनासो छ ।
अक्षय कोषका नाममा अध्यक्ष भन्दै प्रस्तुत भएका सन्तोष पौडेलको निजी कोड शेयर गरी रकम सङ्कलन गरेको उनीहरूको भनाई छ । कतारमै कार्यरत एक नेपालीले भने, “हामीले बागलुङको अस्पताल, शिक्षा सुधार, जिल्लाको विकास भनेर विश्वास गरेर पैसा दिएको थियौँ। तर अहिले थाहा भयो, त्यो पैसा त कोहीको खल्तीमै पो गएको रहेछ।” त्यसो त संस्था दर्ता नगरी चन्दा सङ्कलन गर्नु आफैमा गैरकानुनी हो। अझ निजी खातामा रकम जम्मा गरेर व्यक्तिगत तजबिजमा खर्च गर्नुलाई नेपालको कानुनले सङ्गठित वित्तीय अपराध मानेको छ । यस्तो कार्यमा संलग्न व्यक्तिहरूलाई अनुसन्धान गरी कानुनी दायरामा ल्याइनुपर्छ। विदेशी भूमिमा बस्ने नेपालीहरू यस्ता भावनात्मक सन्देशमा सजिलै पग्लन्छन्। त्यही कमजोरीमा टेकेर सक्रिय गिरोहबाट सेवा र समर्पणको नाममा ठगिने सम्भावना बढी भएकाले दूतावासले त्यहाँ कार्यरत नेपालीहरूलाई यस्ता अभियानबारे सचेत गराउने, कानुनी प्रक्रिया नपुगेका समूहको निगरानी गर्ने, र झुक्किएको महसुस गरेकालाई सहयोग पुर्याउने भूमिकामा अघि बढ्नुपर्ने देखिएको छ । कुनै कानुनी हैसियतबिनै क्युआर कोडमार्फत अक्षय कोषका नाममा रकम उठाइनु, र रकम निजी खातामा जम्मा हुनु आफैँमा ठगी भएकाले यसको अनुसन्धान गरि दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईको भनाई छ ।















