मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी अधिकृत अमृत पोखरेलको मृत्युबारे अनुसन्धानका लागि प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ ।
पोखरेलकी श्रीमती मनिका कोइरालाले प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इन्चार्ज जुना स्थापित, फार्मेसी सहायक विष्णु पौडेल र फार्मेसी सहायक कृष्ण पौडेलविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेर महाराजगन्ज वृत्तको हिरासतमा राखेको छ ।
उनीहरुलाई पोखरेलको सुसाइड नोटमा आत्माहत्या गर्न बाध्य पारेको भन्ने उल्लेख रहेको भेटिएपछि प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको थियो । तर जाहेरी चारजनाविरुद्ध परेपछि अन्यलाई छाडेर उनीहरुलाई हिरासतमा राखिएको हो ।
फार्मेसीमा आर्थिक अनियमितता भएको भन्दै उनीमाथि पनि प्रशासनले छानविन गरिरहेको थियो । बिहीबार अस्पताल प्रशासनले बनाएको छानविन समितिले उनीसँग स्पष्टिकरण सोधेको थियो । उनले सुसाइड नोटमा पनि सोही घटनालाई जोडेका छन् ।
उक्त घटनालाई लिएर आफूलाई फसाउन खोजेको गुनासो उल्लेख गरेको अनुसन्धान अधिकारीले बताए । सोही आरोपका कारण उनलाई जिम्मेवारीबाट हटाइएको थियो ।
शुक्रबार बिहान साढे ८ बजेतिर अस्पतालका फार्मेसी इञ्चार्ज अमृत पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । लगत्तै प्रहरी वृत्त, महाराजगञ्जको टोली घटनास्थलमा पुगेको थियो ।
त्यसक्रममा सुसाइड नोट पनि फेला परेको थियो । पोखरेल मृत भेटिएपछि दिनभर अस्पतालमा तनावको स्थिति सिर्जना भएको थियो ।















