तीन प्रदेश प्रमुखलाई हटाएर नयाँ सिफारिस, तीनैजना एमालेनिकट

सरकारले तीन प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश, मधेस र सुदूरपश्चिमको प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनले संघ र प्रदेश सरकारबीच समन्वय हुनुपर्नेमा पछिल्लो समय त्यस्तो नभएको टिप्पणी गरिन् ।

‘संघ र प्रदेश सरकारहरूबीचमा समन्वय जरुरी छ । तर अहिले कुनै प्रदेशमा विश्वासको मत फिर्ता लिने, कतै मन्त्रीहरूलाई बर्खास्त गर्ने गतिविधि भइरहेका छन्’, उनले भनिन्, ‘संघ र प्रदेशबीच समन्वय आवश्यक भएकाले राजनीतिक रूपमा पनि काम गर्न सजिलो होस् भनेर यो निर्णय लिइएको हो ।’

मधेसमा हरिशंकर मिश्र, गण्डकीमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुख थिए । रिक्त पदमा मधेस प्रमुखका लागि सुमित्रा भण्डारी, गण्डकीका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमका लागि नजिर मियालाई नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको उनले जानकारी दिइन् ।

नयाँ प्रदेश प्रमुखका रूपमा सिफारिस भएका तीनैजना नेकपा एमालेनिकट हुन् । मधेसमा सिफारिस भएकी सुमित्रा भण्डारी एमाले अध्यक्ष केपी शर्मा ओलीकै गृहजिल्ला झापाकी हुन् । उनी एमालेनिकट अनेमसंघमा सक्रिय छिन् ।

मिया र भट्ट नेकपा एमालेका केन्द्रीय सल्लाहकार छन् । मिया संविधानसभा सदस्य भइसकेका छन् भने भट्ट यसअघि राष्ट्रियसभाको निर्वाचनमा पनि उठेका थिए ।