पोखरा रंगशालामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज (माघ १९) लिग चरणका दुई महत्वपूर्ण खेल हुँदैछन्।
आजको पहिलो खेल बंगलादेश र भारतबीच मध्याह्न १२ बजे सुरु हुनेछ। दुवै टोलीले आफ्नो पहिलो खेलमा जित निकाल्दै तीन–तीन अंक जोडिसकेका छन्।
यस्तै, घरेलु टोली नेपालले दिउँसो ३ बजे भुटानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र भुटान दुवै टोली यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका थिए। नेपाल भारतसँग १–० गोल अन्तरले पराजित हुँदा भुटान उद्घाटन खेलमै बंगलादेशसँग १२–० को फराकिलो अन्तरले पराजित भएको थियो।
आजको दोस्रो खेल नेपाल र भुटान दुवैका लागि निर्णायक बन्नेछ। फाइनलको सम्भावना जीवित राख्न दुवै टोलीलाई जित आवश्यक रहेको छ, जसका कारण खेल थप प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
चार टोली सहभागी प्रतियोगिता दक्षिण एसियाली फुटबल महासंघ (साफ) को समन्वय तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ‘राउन्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन भइरहेको छ।
लिग चरण समाप्त भएपछि शीर्ष दुई टोली माघ २४ गते हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने साफका महासचिव पुरुषोत्तम कट्टेलले जानकारी दिएका छन्।















