साफ महिला यू–१९ च्याम्पियनसिप: आज नेपाल–बंगलादेश भिडन्त, फाइनल पुग्न जित अनिवार्य

Image

साफ महिला यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले आज बंगलादेशको सामना गर्दैछ। बुधबार पोखरा रंगशालामा हुने लिग चरणको अन्तिम खेलमा नेपाल र बंगलादेश आमनेसामने हुन लागेका हुन्। खेल दिउँसो ३ बजे सुरु हुने तालिका छ।

फाइनल प्रवेशका लागि नेपाललाई आजको खेलमा जित अनिवार्य छ। तीन खेलमध्ये दुई खेल खेलेको नेपालले एक जित र एक हारसहित ३ अंक जोडेको छ।

यता बंगलादेश भने फाइनल प्रवेशको नजिक पुगेको छ। उसले हालसम्म खेलेका दुवै खेल जित्दै ६ अंक जोडेको छ र शतप्रतिशत नतिजासहित अग्रस्थानमा छ।

भारत, नेपाल, भुटान र बंगलादेश गरी चार टोली सहभागी प्रतियोगिता ‘लिग कम नकआउट’ प्रणालीमा सञ्चालन भइरहेको छ। लिग चरणपछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन्।