आइसिसी टी–२० विश्वकप २०२६ मा नेपालको यात्रा समूह चरणमै टुंगिएको छ। भारतको मुम्बईस्थित वानखडे रंगशालामा समूह ‘सी’ अन्तर्गत खेलेका तीनै खेलमा पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्यो।
पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध नेपालले प्रतिस्पर्धात्मक प्रदर्शन गरेको थियो। १८५ रनको लक्ष्य पछ्याएको नेपाल १८० रनमै रोकिँदा चार रनले पराजित भयो। खेल अन्तिम ओभरसम्म पुगेको थियो र नतिजा नेपालका पक्षमा फर्किन सक्ने सम्भावना पनि देखिएको थियो। तर दोस्रो खेलमा इटालीसँग भने नेपाल १० विकेटले पराजित भयो। १२३ रनमै अलआउट भएको नेपालको ब्याटिङ क्रम कुनै पनि चरणमा लयमा देखिएन।
आइतबार वेस्ट इन्डिजविरुद्धको तेस्रो खेलमा पनि नेपालको ब्याटिङ जमेन। दीपेन्द्रसिंह ऐरीबाहेक अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्। नेपालले १३३ रनको लक्ष्य प्रस्तुत गरे पनि वेस्ट इन्डिजले एक विकेटको क्षतिमा सहजै पूरा गर्यो।
लगातार तीन हारपछि स्वाभाविक रूपमा कारण खोजिन थालेको छ। विशेषगरी इटालीसँगको हारपछि मुख्य प्रशिक्षक स्टुअर्टले खेलाडी सामाजिक सञ्जालमा बढी केन्द्रित भएको टिप्पणी गर्दै आलोचना गरेका थिए। पत्रकारले सोधेको प्रश्न नभए पनि उनले आफैं सामाजिक सञ्जाल प्रयोगलाई ‘ननसेन्स (वाहियात)’ भन्दै खेलमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका थिए।
यसअघि कप्तान रोहितकुमार पौडेलले भने सामाजिक सञ्जाल प्रयोग व्यक्तिगत विषय भएको धारणा दिएका थिए। तर प्रशिक्षकको आलोचनापछि टिमका केही खेलाडीले सार्वजनिक रूपमा सामाजिक सञ्जालबाट टाढा रहनुपर्ने धारणा व्यक्त गरेका छन्।
वेस्ट इन्डिजविरुद्धको खेलपछि मिक्स जोनमा सोमपाल कामीले सामाजिक सञ्जाल र खेल फरक कुरा भएको भन्दै खेलमै बढी केन्द्रित हुनुपर्ने बताए। नेपालका लागि तीन वटा टी–२० विश्वकप खेलिसकेका सोमपालले प्रतियोगिताका बेला सामाजिक सञ्जाल हेर्नु उपयुक्त नहुने बताए।
“कोचले भनेको कुरा सही छ। धेरै युवा खेलाडी राम्रो प्रदर्शन गर्दा इन्स्टाग्राम वा फेसबुकमा गएर राम्रा कमेन्ट पढ्छन्। तर खेलाडीका लागि हरेक दिन राम्रो हुँदैन। जब तपाईं खराब महसुस गर्नुहुन्छ, त्यतिबेला सामाजिक सञ्जालमा नजानु राम्रो हुन्छ,” उनले भने, “म आफैं खेलको बेला सामाजिक सञ्जाल हेर्दिनँ। अहिले सबैलाई फलोअर र लाइक चाहिन्छ, तर खेलाडीका लागि प्रदर्शन नै सबैभन्दा महत्वपूर्ण कुरा हो।”
उनले खेलाडीले आलोचना र प्रशंसालाई समान रूपमा लिन सिक्नुपर्ने बताए। “आज राम्रो लेख्नेले भोलि नराम्रो पनि लेख्न सक्छ। त्यसैले मानसिक रूपमा बलियो हुनु आवश्यक छ,” सोमपालको भनाइ थियो।
सोमपालपछि पत्रकारसँग कुरा गर्दै अलराउन्डर गुल्सन झाले पनि प्रतियोगिताका बेला सामाजिक सञ्जाल बेवास्ता गर्ने बताएका छन्। उनले आफ्नो प्रदर्शनप्रति सन्तुष्टि व्यक्त गर्न नसक्ने भन्दै टोली समग्र रूपमा अपेक्षा अनुसार खेल्न नसकेको स्वीकार गरे।
“अरूको कुरा थाहा छैन, तर म प्रतियोगिताका क्रममा सामाजिक सञ्जालतिर ध्यान दिन्नँ। खेलाडीको प्रदर्शन तलमाथि भइरहन्छ। कुनै खेलमा स्कोर भएन भने अर्को खेलमा फर्कन सक्छ। सामाजिक सञ्जाल र क्रिकेट जीवनलाई जोड्नु हुँदैन,” गुल्सनले भने।
कप्तान रोहितकुमार पौडेलले पनि बाहिरका कुरा सुन्ने र त्यसले खेलमा असर पार्ने विषयमा सचेत हुनुपर्ने बताएका छन्। पोस्ट म्याच प्रिजेन्टेसनमा उनले भने, “यदि खेलाडीहरूले बाहिरका कुरा धेरै सुने भने राम्रो प्रदर्शन गर्न गाह्रो हुन्छ। टिम हारिरहेको बेला सबैलाई सकारात्मक राख्नु अत्यावश्यक हुन्छ, र हामी त्यही प्रयास गरिरहेका छौं।”
आइसिसीले टी–२० विश्वकपका क्रममा खेलाडीलाई सामाजिक सञ्जाल प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छैन। तर भेदभावपूर्ण वा विवादित सामग्री पोस्ट गर्न भने निषेध छ। विश्वका धेरै क्रिकेट बोर्डले महत्वपूर्ण प्रतियोगिताका बेला सामाजिक सञ्जालसम्बन्धी आचारसंहिता बनाउने गरेका छन्, जसअन्तर्गत खेलाडीले ब्रान्ड प्रमोशन गर्न पाउने तर निश्चित सीमाभित्र रहेर गर्नुपर्ने व्यवस्था हुन्छ।
नेपालको हकमा भने नेपाल क्रिकेट संघ (क्यान) ले औपचारिक रूपमा स्पष्ट सामाजिक सञ्जाल नीति लागू गर्न सकेको छैन। केही वर्षअघि नियमावली बनाउने प्रयास भए पनि कार्यान्वयनमा ल्याउन सकिएको छैन।
लगातारको हारसँगै अब नेपालको क्रिकेट वृत्तमा केवल प्राविधिक कमजोरी मात्र होइन, खेलाडीको मानसिक तयारी, व्यावसायिकता र डिजिटल युगमा ध्यान केन्द्रित गर्ने क्षमतामाथि पनि बहस सुरु भएको छ। प्रतियोगिताबाट बाहिरिएपछि नेपाली टोलीले आगामी दिनमा आत्ममूल्यांकन गर्दै संरचनागत सुधार, प्रशिक्षण पद्धति र अनुशासनमा कडा कदम चाल्नुपर्ने माग उठ्न थालेको छ।













