आईसीसी टी–२० विश्वकपमा नेपालका लागि स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरी ले पुनः उत्कृष्ट प्रदर्शन गर्दै लगातार दोस्रो अर्धशतक पूरा गरेका छन्। उनले २०औँ ओभरको पहिलो बलमा २३ बल खेल्दै ४ चौका र ३ छक्काको मद्दतमा अर्धशतक पुरा गरेका हुन्। जारी विश्वकपमा यो उनको लगातार दोस्रो अर्धशतक हो। यसअघि उनले वेस्ट इन्डिज क्रिकेट टोली विरुद्ध पनि शानदार अर्धशतक प्रहार गरेका थिए।
दीपेन्द्रले मध्यमक्रमका ब्याट्सम्यान गुल्शन झा सँग ७३ रनको महत्वपूर्ण साझेदारी गरे। उक्त साझेदारीकै बलमा नेपालले विश्वकपमा १२ वर्षपछि ऐतिहासिक जित हात पार्न सफल भयो। गुल्शनले एक चौका र दुई छक्काको मद्दतमा अविजित २४ रन जोड्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए।
उत्कृष्ट प्रदर्शनका लागि दीपेन्द्र खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए। खेलपछि प्रतिक्रिया दिँदै दीपेन्द्रले भने, “प्रशंसकहरूलाई धन्यवाद। गत विश्वकपमा हामीले एउटा पनि खेल जित्न सकेनौं, जुन हाम्रो लागि निकै पीडादायी थियो। यो जित र यो इनिङ मेरो उत्कृष्ट इनिङमध्ये एक हो। इङ्गल्याण्डसँगको खेलबाट धेरै सिक्ने मौका मिल्यो, त्यो अनुभव हाम्रो लागि उपयोगी भयो।”
दीपेन्द्र सिंह ऐरीको आक्रमक अर्धशतकमा नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा स्कटल्याण्डलाई ७ विकेटले पराजित गर्दै १२ वर्षपछि विश्वकपमा पहिलो जित हात पारेको छ ।













