नेपालले फिफा सिरिज–२०२६ अन्तर्गत थाइल्यान्डमा आयोजना हुने चार देशीय महिला फुटबल प्रतियोगिता नखेल्ने भएको छ। फिफाको तालिकाअनुसार नेपाली महिला टोलीले अप्रिल १२ र १५ मा थाइल्यान्डमा हुने सिरिजमा प्रतिस्पर्धा गर्ने कार्यक्रम तय गरिएको थियो।
तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बनमा परेपछि नेपालले प्रतियोगिताबाट नाम फिर्ता लिएको एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिएका छन्।
सिरिजका लागि एन्फाले चैत ११ गते ३२ खेलाडीको प्रारम्भिक टोली घोषणा गरेको थियो। तर, सोही दिन राखेपले एन्फालाई निलम्बन गरेपछि खेलाडीहरूको प्रशिक्षण क्याम्पसमेत सञ्चालन हुन सकेन।
उक्त प्रतियोगितामा थाइल्यान्ड, नेपाल, कंगो र अर्को एक देश सहभागी हुने तय थियो। नेपालले सहभागिता नजनाउने भएपछि अब उक्त स्थानमा अर्को देशले अवसर पाउने बताइएको छ।
एन्फा र राखेपबीचको विवादका कारण यसअघि चैत १२ गते दशरथ रंगशालामा हुने भनिएको नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल पनि स्थगित भएको थियो।















