७ दिनभित्र समस्या समाधान नभए निलम्बन हुने एन्फालाई फिफा र एएफसी चेतावनी

Image

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई ७ दिनभित्र निर्वाचन प्रक्रिया पुनः सुरु गरी सम्पन्न हुने सुनिश्चितता नगरे निलम्बन प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन्।

फिफा र एएफसीले शनिबार एन्फाका महासचिव किरण राईलाई संयुक्त पत्र पठाउँदै पत्र प्राप्त भएको मितिबाट ७ दिनभित्र निर्वाचन प्रक्रिया पुनः सुरु गर्न र त्यसलाई अन्तिम रूप दिन स्पष्ट निर्देशन दिएका हुन्।

संयुक्त पत्रमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फामाथि लगाएको निलम्बनका कारण संघले आफ्नो आन्तरिक मामिलामा स्वतन्त्र रूपमा काम गर्न नसकेको उल्लेख गरिएको छ। फिफा र एएफसीले उक्त निर्णय खारेज नभए वा एन्फाले राखेपको निलम्बन प्रभावहीन रहेको स्पष्ट गर्दै आफ्नो चुनावी प्रक्रिया पूर्ववत् सुरु गरेको लिखित रूपमा सुनिश्चित नगरेमा कडा कदम चालिने बताएका छन्।

पत्रमा भनिएको छ, “यदि राखेपले उक्त निर्णय खारेज नगरेमा वा पत्र प्राप्त भएको ७ दिनभित्र उक्त निर्णयको कुनै प्रभाव नरहेको र एन्फाले राखेपद्वारा लगाइएको निलम्बन अघिको अवस्थाबाट आफ्नो चुनावी प्रक्रिया पुनः सुरु गरेको लिखित रूपमा सुनिश्चित नगरेमा एन्फालाई तत्काल निलम्बन गर्नका लागि फिफा काउन्सिलमा प्रस्ताव पेश गरिनेछ।”

फिफाबाट निलम्बन भएमा एन्फाले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने, फिफा तथा एएफसीको विकास कोषमा पहुँच बन्द हुने र अन्य सदस्य राष्ट्रका फुटबल संघलाई एन्फासँग खेलकुद सम्बन्ध कायम गर्न निषेध गरिने चेतावनी पनि पत्रमा दिइएको छ।

यसअघि स्वीकृतिविना निर्वाचन गर्न लागेको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले चैत १२ गते एन्फालाई तीन महिनासम्मका लागि निलम्बन गर्ने निर्णय गरेको थियो। राखेपको उक्त निर्णयपछि एन्फाले चैत १३ गतेका लागि तय गरिएको निर्वाचन स्थगित गरेको थियो।

राखेपको हस्तक्षेप र फिफाको कडा चेतावनीबीच एन्फाको निर्वाचन र नेपाल फुटबलको भविष्य फेरि एकपटक अनिश्चितताको मोडमा पुगेको छ।