नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि बिदा र कार्यालय समयसम्बन्धी नयाँ प्रावधान लागू गर्ने घोषणा गरेको छ । मानव संशाधन व्यवस्थापन विभागद्वारा जारी सूचनामा सरकारको निर्णय अनुसार अबदेखि हरेक शनिबार र आइतबार सार्वजनिक बिदा हुने उल्लेख गरिएको छ।
यो व्यवस्था २०८२ चैत २३ गतेदेखि कार्यान्वयनमा आउनेछ । नयाँ नियमसँगै बैंक तथा वित्तीय संस्थाको दैनिक सञ्चालन समयसमेत परिमार्जन गरिएको छ ।
अब सोमबारदेखि शुक्रबारसम्म कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ भने सर्वसाधारणका लागि बैंकिङ सेवा बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म उपलब्ध हुनेछ ।
केन्द्रीय बैंकको निर्देशनपछि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले पनि आन्तरिक रूपमा नयाँ तालिका लागू गर्न थालेका छन् । कर्मचारीहरूलाई तोकिएको समयभन्दा अगाडि, बिहान ८ बजेर ४५ मिनेटसम्ममा कार्यस्थलमा उपस्थित हुन भनिएको छ, ताकि सेवा समयमै सुरू गर्न सकियोस्।
सरकारले इन्धन खपत घटाउने लक्ष्यसहित लिएको निर्णय अनुसार सेवा समयलाई व्यवस्थित गरिएको हो । यसअनुसार ग्राहकले बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म बैंकिङ सेवा लिन सक्नेछन् । यस्तै, जाडो याम (कात्तिक १६ देखि माघ १५) मा भने समय तालिका थप परिवर्तन हुनेछ।
सो अवधिमा कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ भने बैंकिङ कारोबार समय बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सीमित गरिनेछ।















