सिड्नीको एक व्यस्त पार्कमा एक घरविहीन युवाको स्तब्ध पार्ने मृत्युले अस्ट्रेलियामा नयाँ बहस सिर्जना गरेको छ। सामाजिक सुरक्षामा अग्रणी मानिने देशमै सहायता प्रणाली किन असफल भइरहेको छ भन्ने प्रश्न यो घटनाले उठाएको विश्लेषण भइरहेको छ।
न्यूज डट कम डट एयूमा प्रकाशित रिपोर्टका अनुसार ३२ वर्षीय नेपाली विद्यार्थीको मृत्यु हुँदासमेत “कसैले चाल नपाएको” अवस्था सार्वजनिक भएपछि विषय बाहिर आएको हो।
द गार्जियनले महिनौँ लगाएर गरेको अनुसन्धानले कम्प्युटर साइन्स पढ्न अस्ट्रेलिया पुगेका, तर पछि सडक जीवनमा धकेलिएका मकवानपुरका बिक्रम लामाको हृदयविदारक कथा उजागर गरेको छ।
सिड्नीस्थित सेन्ट जेम्स स्टेशन नजिकैको पार्कमा गत डिसेम्बर ७ मा लामाको शव फेला परेको थियो। ३२ वर्षीय लामा लामो समयदेखि बेघर (रफ स्लीपर)को रूपमा बस्दै आएका थिए। उनी हरेक बिहान चरालाई दाना खुवाउने बानीका कारण “बर्डम्यान” का रूपमा चिनिन्थे।
तर एकदिन अचानक उनी नदेखिए पनि कसैले चासो दिएन। करिब एक हप्तासम्म हजारौँ मानिस त्यही बाटो हुँदै आवतजावत गर्दा पनि उनको शव कसैले नदेखेको बताइएको छ।
अन्ततः स्टेशनका कर्मचारीले शव फेला पारे, तर त्यतिबेलासम्म शरीर अत्यधिक सडिसकेको हुँदा पहिचान गर्न कठिन भएको थियो। पछि डीएनए परीक्षणमार्फत उनको पहिचान गरिएको जनाइएको छ।
लामा सन् २०१३ मा नेपालबाट अस्ट्रेलिया अध्ययनका लागि गएका थिए। परिवारले उनलाई पठाउन करिब ९ कठ्ठा जमिन बेच्नुपरेको थियो। तर अध्ययनपछि उनी परिवारसँग सम्पर्कविहीन बनेका थिए र पछिल्ला ७ वर्षदेखि कुनै खबर नभएको आफन्तले बताएका छन्।
उनको विद्यार्थी भिसा सकिएपछि र पासपोर्ट नवीकरण नभएपछि उनी गैर–आवासीय अवस्थामा पुगेका थिए। त्यसका कारण उनले आवास, स्वास्थ्य सेवा र आर्थिक सहयोग पाउने अधिकार गुमाए र अन्ततः सडकमा बस्न बाध्य भए।
लामाको परिवार अहिले पनि उनको मृत्युको कारणबारे अनभिज्ञ छ। उनीहरू शव नेपाल ल्याएर अन्त्येष्टि गर्न चाहन्छन्, तर आर्थिक अभावले समस्या भइरहेको बताएका छन्।
सिड्नीमा सडकमा बस्ने करिब पाँचमध्ये एक व्यक्ति गैर–आवासीय रहेको अनुमान छ। कोभिड–१९ का बेला धेरैलाई होटलमा राखेर सहयोग गरिए पनि यस्ता व्यक्तिहरू भने सहयोगको दायराभन्दा बाहिरै परेका थिए।
विज्ञहरूका अनुसार गैर–आवासीय र शरणार्थीहरू सरकारी सेवा, आवास तथा स्वास्थ्य सुविधाबाट वञ्चित हुँदा अत्यन्त जोखिमपूर्ण अवस्थामा पुगेका छन्। अस्ट्रेलियामा करिब ५ हजार शरणार्थीहरू कठिन अवस्थामै जीवन बिताइरहेका छन्।
यो घटनाले विदेशमा अध्ययन वा कामका लागि गएका नेपाली युवाहरूको जोखिमपूर्ण अवस्थालाई उजागर गर्नुका साथै बेघर तथा गैर–आवासीय व्यक्तिहरूका लागि नीतिगत सुधारको आवश्यकता औंल्याएको छ। बिक्रम लामाको मृत्यु केवल एउटा व्यक्तिगत त्रासदी मात्र नभई, अस्ट्रेलियाको सहायता प्रणालीमा रहेको कमजोरीतर्फ गम्भीर चेतावनीका रूपमा हेरिएको छ।
















