स्पेनिस दोस्रो श्रेणीको क्लब एफसी एन्डोराका मालिक जेरार्ड पिकेलाई दुई महिनाको प्रतिबन्ध लगाइएको छ । गत साता खेलक्रममा रेफ्रीमाथि अभद्र व्यवहार गर्नुका साथै धम्की दिएपछि स्पेनका पूर्वस्टार डिफेन्डर पिकेलाई स्पेनिस फुटबल फेडेरेसन (आरएफईएफ)ले दुई महिना निलम्बन गरेको हो ।
प्रतिबन्धपछि पिके ६ खेलमा मैदानमा उपस्थित हुन पाउने छैनन् । उनी दुई महिना फुटबलका कुनै पनि कार्यक्रममा सहभागी हुन पाउने छैनन् ।
गत साता एल्बाकेटसँग १–० ले स्तब्ध भएपछि एन्डोरा प्लेअफ दौडबाट बाहिरिएको थियो । त्यहीक्रममा पिकेले रेफ्री एलोन्सो डी एनालाई अभद्र व्यवहार तथा धम्की दिएका थिए । त्यसपछि रेफ्रीले पिकेलाई कारबाहीका निम्ति सिफारिस गरेका थिए ।
क्लबका अध्यक्ष फेरान भिलासेका, निर्देशक जुमे नोगुएसलाई पनि चार महिनाको प्रतिबन्ध लगाइएको छ । क्लबलाई एक हजार ५०० युरो जरिवाना गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।















