आईसीसी विश्वकप लिग–२ अन्तर्गत सातौँ श्रृंखलाको पहिलो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
दुवै टोली जितसहित श्रृंखलाको सुरुआत गर्ने लक्ष्यमा रहेका छन् । नेपाल र स्कटल्यान्डबीच हालसम्म १० एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा नेपालले पाँच खेल जितेको छ भने स्कटल्यान्डले चार खेल आफ्नो पक्षमा पारेको छ । एक खेल भने नतिजाविहीन बनेको थियो ।
त्रिवि क्रिकेट मैदानमा भने नेपाल स्कटल्यान्डमाथि हाबी देखिएको छ । यस मैदानमा भएका दुवै भेटमा नेपाल विजयी भएको थियो ।
लिग–२ को अघिल्लो साइकलमा नेपालले स्कटल्यान्डलाई निराश बनाएको थियो । चालु साइकलमा भने दुई टोलीबीच चार खेल भइसकेका छन् । गत वर्ष स्कटल्यान्डको घरेलु मैदान डुन्डीमा सम्पन्न श्रृंखलामा दुवै टोलीले समान एक–एक जित निकालेका थिए । त्यसअघि सन् २०२४ मा अमेरिकामा भएको भेटमा नेपालले एक खेल जितेको थियो भने अर्को खेल वर्षाका कारण अवरुद्ध बनेको थियो ।













