राष्ट्रपति रामचन्द्र पौडेलले कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्ने बताएका छन्।कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम २०८२ लाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।राष्ट्रपति पौडेलले “किसानको मुस्कानमा राष्ट्रको खुसी लुकेको हुन्छ र किसानको प्रगतिमा देशको समृद्धि गाँसिएको हुन्छ” भन्दै परिवर्तित सन्दर्भमा कृषकको सम्मानलाई राज्यले विशेष प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
उनले कृषि मुलुकको समृद्धिको प्रमुख आधार भएको उल्लेख गर्दै किसानलाई राष्ट्रका गहना भएको बताए। कृषि क्षेत्रलाई केवल जीविकोपार्जनको माध्यम नभई राष्ट्र निर्माणको आधारशीलाका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो।राष्ट्रपति पौडेलले श्रम गर्ने संस्कृतिको विकास आवश्यक रहेको उल्लेख गर्दै किसानको मेहनत, पसिना र समर्पणले नै देशको अर्थतन्त्र चलायमान भएको बताए।
उनका अनुसार राज्य, निजी क्षेत्र तथा सरोकारवाला सबै निकाय एकताबद्ध भएर कृषिमा लगानी, प्रविधि, बजारीकरण र युवा सहभागिता बढाउन आवश्यक छ।“युवाशक्तिको ऊर्जा, आधुनिक प्रविधिको प्रयोग र राज्यको दूरदर्शी नीतिसँगै कृषि क्षेत्रलाई उत्पादन, रोजगारी र समृद्धिको आधार बनाउनुपर्छ,” उनले भने।उनले कृषकको सम्मान, कृषि पेसाको संरक्षण र आधुनिकीकरण आजको आवश्यकता भएको पनि उल्लेख गरे।
राष्ट्रपति पौडेलले कृषकलाई सम्मान गर्न पाउनु आफूका लागि हर्षको विषय भएको बताउँदै यस्तो कार्यक्रमले कृषि पेसालाई सम्मानित बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरे।उनले कृषि क्षेत्रलाई सम्मानित, व्यावसायिक र आत्मनिर्भर बनाउन सकिए मात्र देश निर्माणको सपना पूरा हुने धारणा राखे।उनका अनुसार राजनीतिक परिवर्तनपछि मुलुकको प्रमुख आवश्यकता आर्थिक समृद्धि हो र त्यसका लागि कृषि, जलस्रोत, पर्यटन, पूर्वाधार, सूचना प्रविधि र उद्योगधन्दाको विकास आवश्यक छ।
राष्ट्रपति पौडेलले बदलिँदो परिवेशमा युवालाई स्वदेशमै रोजगारी दिन सकिने प्रमुख क्षेत्र कृषि नै भएको उल्लेख गर्दै यसलाई उद्योगको कच्चा पदार्थको स्रोतका रूपमा विकास गर्नुपर्ने बताए।उनले कृषि व्यवसायलाई प्राथमिकतामा राखेर युवा उद्यमशीलता केन्द्रित कार्यक्रम सञ्चालन गर्न सरकारलाई आग्रह समेत गरे।















