सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक, सदनको अवरोध हटाउने प्रयास

Image

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक सोमबार बिहान बोलाएका छन्।प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली २०८३ लागू भएसँगै पुरानो कार्यव्यवस्था परामर्श समिति स्वतः विघटन भएको र नयाँ समिति गठन हुन नसकेको अवस्थामा सदनको कार्यसूची तथा आगामी प्रक्रियाबारे छलफल गर्न सभामुखले प्रमुख सचेतकहरूको बैठक बोलाएका हुन्।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक सोमबार बिहान साढे ९ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बस्नेछ।यसअघि प्रतिनिधिसभा नियमावली २०७९ अनुसार सञ्चालन हुँदै आएको संसद्ले जेठ १७ गते विपक्षी दलहरूको बेल घेराउका बीच सत्तारुढ दलको बहुमतबाट प्रतिनिधिसभा नियमावली २०८३ पारित गरेको थियो। तर त्यसयता विपक्षी दलहरूले सदनलाई कार्यसूचीमा प्रवेश गर्न नदिएकाले नयाँ कार्यव्यवस्था परामर्श समिति गठन हुन सकेको छैन।

विपक्षी दलहरूले जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन तथा प्रधानमन्त्रीले सदनमा उपस्थित भई माफी माग्नुपर्ने माग गर्दै संसद् अवरोध गर्दै आएका छन्।जेठ १९ गतेयता स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ। सभामुखले आह्वान गरेको प्रमुख सचेतकहरूको बैठकले सदनको अवरोध अन्त्य गर्ने तथा कार्यसूची अघि बढाउने विषयमा सहमतिको प्रयास गर्ने अपेक्षा गरिएको छ।