संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्दैछ । तर प्रधानमन्त्री वालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर जारी राजनीतिक विवादका कारण बैठक सुचारु हुने सम्भावना भने कमजोर देखिएको छ ।प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्ति फिर्ता लिएर संसद्को रोष्ट्रमबाट माफी नमागेसम्म सदन चल्न नदिने अडान विपक्षी दलहरूले कायम राखेका छन् । सोही विषयलाई लिएर लामो समयदेखि प्रतिनिधिसभाको बैठक अवरुद्ध हुँदै आएको छ ।
आजको सम्भावित कार्यसूचीअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनेछन् । त्यसपछि उनले वक्तव्यसहित राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयनसम्बन्धी जानकारी गराउने तथा राष्ट्रियसभाबाट निर्धारित अवधिभित्र फिर्ता नआएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ सम्बन्धमा सदनलाई जानकारी गराउने कार्यसूची पनि रहेको छ ।
यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
तर विपक्षी दलहरूको अवरोध जारी रहे आजको बैठक पनि प्रभावित हुन सक्ने देखिएको छ । संसद् सञ्चालन र बजेटमाथिको छलफल अघि बढाउने विषयमा सत्ता पक्ष र विपक्षी दलबीच सहमति जुट्न नसक्दा संसदीय गतिविधि प्रभावित हुँदै आएको छ ।
















