सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान गएको सुख्खा पहिरोले सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) तातोपानीका विभिन्न संरचनामा क्षति पुर्याएको छ।
सशस्त्र प्रहरीका अनुसार शुक्रबार बिहान करिब १ः१५ बजे बीओपीको उत्तर–पश्चिमतर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो खसेको थियो। पहिरोसँगै झरेका ढुङ्गाहरू आपसमा ठोक्किँदै उछिट्टिएर बीओपी परिसरभित्र पुगेका थिए।
घटनामा मानवीय क्षति भने नभएको सशस्त्र प्रहरीले जनाएको छ। तर पहिरोका कारण बीओपीका विभिन्न भवन तथा संरचनामा भौतिक क्षति पुगेको छ।
पहिलो लाइन ब्यारेकको एउटा झ्यालको सिसा फुटेको छ भने दोस्रो लाइन ब्यारेकको भित्तामा प्वाल परेको र जस्ताको छानोमा छ वटा प्वाल परेको छ। त्यस्तै, एउटा ड्युटी पोस्ट पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने अर्को ड्युटी पोस्टमा आंशिक क्षति पुगेको छ।
यसबाहेक सशस्त्र प्रहरी निरीक्षकको बाथरुमको भित्तामा प्वाल परेको, हिमाली ज्याकेटमा ढुङ्गा लागेर क्षति पुगेको, राष्ट्रिय झण्डा राखिएको पोल पूर्ण रूपमा भत्किएको, जिन्सी स्टोर भवनमा तीन वटा प्वाल परेको तथा मुख्य प्रवेशद्वारअगाडिको सिँढीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।
घटनापछि सुरक्षा अवस्थाको मूल्याङ्कन, जोखिम आकलन तथा क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको सशस्त्र प्रहरी बलले जनाएको छ।















