राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले बागमती प्रदेश सरकार गठनको प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ।
राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बिहीबार अबेर बसेको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा सरकार गठनका लागि भइरहेको सत्ता समीकरणको गणितीय चलखेलमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको हो।
बैठकले राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पारित निर्णय तथा निर्देशनअनुसार बागमती प्रदेश सरकारमा सहभागी नहुने प्रस्ताव अनुमोदन गरेको जनाएको छ।
संसदीय दलले तत्कालीन राजनीतिक समीकरणका आधारमा सरकार गठनको दौडमा नरहने स्पष्ट गर्दै पार्टीको केन्द्रीय निर्णयअनुसार आगामी राजनीतिक गतिविधि अघि बढाउने जनाएको छ।
राप्रपाको यस निर्णयसँगै बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि चलिरहेको सत्ता समीकरणमा पार्टीको सहभागिता नहुने स्पष्ट भएको छ।















