राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव राखेपछि विवाद चर्किएको छ।
ललितपुरमा आइतबार आयोजित ‘नेसनल गभर्नेन्स समिट’लाई सम्बोधन गर्दै ढकालले नेपालमा सिंह नै नभएकाले सिंहदरबार नाम अब उपयुक्त नहुने तर्क गरेका हुन्। उनले सिंहदरबारको नाम ‘अनामनगर दरबार’ राख्न सकिने सुझावसमेत दिए।
ढकालले परिवर्तनपछि विभिन्न स्थानका नाम फेरिएजस्तै सिंहदरबारको नाम पनि परिवर्तन गर्नुपर्ने भन्दै यसको नाम र व्यवहारबीच समेत प्रश्न उठाए। उनका अनुसार सिंहदरबारसँग जोडिएको पुरानो सोच र कार्यशैली परिवर्तन गर्न आवश्यक छ।
सम्बोधनका क्रममा ढकालले देश एकैपटक समृद्ध नहुने र सुशासन पनि रातारात नआउने बताए। उनले प्रधानमन्त्री बालेन्द्र शाहले व्यक्त गरेको ‘विश्वास जगाउनुपर्ने’ धारणाको समर्थन गर्दै अहिलेको आवश्यकता एकअर्कालाई दोष लगाउनु भन्दा नागरिकमा आशा र विश्वास जगाउने बहस भएको बताए।
ढकालको सिंहदरबारको नाम परिवर्तनसम्बन्धी अभिव्यक्तिको भने विरोध सुरु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले ढकालको भनाइप्रति कडा आपत्ति जनाएका छन्।
श्रेष्ठले ढकाललाई ‘उपबुज्रुक’ भन्दै व्यंग्यात्मक शैलीमा प्रश्न गरेका छन्। उनले भने, ‘जसको मनमा हरि नै छैन, उसको नामचाहिँ हरि ! गोबर नाम राखे हुन्न ?’














