‘सिंहदरबार’ नाम कसरी रहन गयो ?

Image

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव राखेपछि आलोचना भइरहेको छ ।

ललितपुरमा आइतबार आयोजित ‘नेसनल गभर्नेन्स समिट’लाई सम्बोधन गर्दै ढकालले नेपालमा सिंह नै नभएकाले सिंहदरबार नाम अब उपयुक्त नहुने तर्क गरेका हुन्। उनले सिंहदरबारको नाम ‘अनामनगर दरबार’ राख्न सकिने सुझावसमेत दिए।

ढकालले परिवर्तनपछि विभिन्न स्थानका नाम फेरिएजस्तै सिंहदरबारको नाम पनि परिवर्तन गर्नुपर्ने भन्दै यसको नाम र व्यवहारबीच समेत प्रश्न उठाए। उनका अनुसार सिंहदरबारसँग जोडिएको पुरानो सोच र कार्यशैली परिवर्तन गर्न आवश्यक छ।

ढकालको सिंहदरबारको नाम परिवर्तनसम्बन्धी अभिव्यक्तिको भने विरोध सुरु भएको छ। तर इतिहास परिवर्तन खोज्ने भन्दै ढकालको अहिले चर्को आलोचना भइरहेको छ ।

कसरी रह्यो ‘सिंहदरबार’ नाम ?

सिंहदरबार काठमाडौंको ऐतिहासिक तथा प्रशासनिक केन्द्र हो। तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेर जबराले सन् १९०८ अर्थात् वि.सं. १९६५ तिर आफ्नो निजी निवासका रूपमा यसको निर्माण सुरु गरेका थिए। युरोपेली वास्तुकला शैलीको प्रभाव रहेको सिंहदरबारको प्रवेशद्वारमा रहेका सिंहका दुई मूर्तिका कारण यसको नाम ‘सिंहदरबार’ रहन गएको बताइन्छ।

सिंहदरबारको नामकरणबारे अर्को रोचक भनाइ पनि छ। दरबार निर्माणपछि चन्द्र शमशेर आफ्नी जेठी बडामहारानी लोकभक्त लक्ष्मीदेवीसँग दरबारको कौसीमा पुगेका थिए। त्यहाँबाट बागदरबारतर्फ देखाउँदै उनले नयाँ दरबारलाई के नाम दिने भन्ने प्रसंग उठेको र प्रवेशद्वारमा रहेका सिंहका मूर्तितर्फ संकेत गर्दै ‘सिंहदरबार’ नाम रहन गएको भनाइ पाइन्छ।

अर्थात्, यसको नाम केवल एउटा भवनको नाम नभएर, नेपालको राजनीतिक इतिहास र प्रशासनिक विकाससँग जोडिएको ऐतिहासिक परिचय बनेको छ।

एक वर्षमै बनेको भव्य दरबार

सिंहदरबारको निर्माण करिब एक वर्षमै सम्पन्न भएको बताइन्छ। सुरुमा निजी निवासका रूपमा बनाइएको यो दरबारमा चन्द्र शमशेरले आफ्नो २९ वर्षे शासनकालमध्ये अधिकांश समय बिताएका थिए।

दरबारको डिजाइन कुमार नरसिंह राणा र किशोर नरसिंह राणाले गरेका थिए। यसको वास्तुकलामा पल्लाडियन, कोरिन्थियन, नियोक्लासिकल र बारोकलगायत युरोपेली शैलीको प्रभाव देखिन्छ।

निर्माण सम्पन्न भएपछि चन्द्र शमशेरले सिंहदरबार नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए। त्यसपछि यो क्रमशः प्रधानमन्त्रीको सरकारी निवास हुँदै नेपालको प्रमुख प्रशासनिक केन्द्रका रूपमा विकसित भयो।

दासप्रथा उन्मूलनको घोषणा देखि चार सहिदलाई मृत्युदण्डको फैसलासम्म

सिंहदरबार नेपालको प्रशासनिक इतिहाससँग मात्रै होइन, सामाजिक परिवर्तनसँग पनि जोडिएको छ। वि.सं. १९८२ वैशाख १ गते प्रधानमन्त्री चन्द्र शमशेरले यही सिंहदरबारबाट दासप्रथा उन्मूलन गर्ने ऐतिहासिक घोषणा गरेका थिए। त्यसैले सिंहदरबारको इतिहास राणाकालीन शक्ति संरचनासँग जोडिए पनि नेपालको सामाजिक तथा राजनीतिक परिवर्तनका महत्वपूर्ण घटनाहरूको साक्षीसमेत हो।

सिंहदरबारको इतिहासको अर्को पाटो भने निकै पीडादायी छ। राणा शासनविरुद्ध संघर्ष गरेका दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिने फैसला जुद्ध शमशेरको शासनकालमा यही दरबारबाट भएको इतिहासमा उल्लेख छ। यसै कारण सिंहदरबार नेपालको लोकतान्त्रिक संघर्ष र निरंकुश शासनविरुद्धको आन्दोलनको इतिहाससँग पनि प्रत्यक्ष रूपमा जोडिएको छ।

२०३० सालको आगलागीले बदलियो सिंहदरबार

विसं २०३० असार २५ गते सिंहदरबारमा विद्युत् सर्ट भएर ठूलो आगलागी भयो। आगलागीमा मानवीय क्षति नभए पनि परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्वपूर्ण कागजात तथा दस्तावेजसहित दरबारका धेरै संरचना नष्ट भए। घटनापछि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले सरकारी सम्पत्तिको संरक्षणमा भएको क्षतिको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए।

आगलागीपछि सिंहदरबारका बाँकी संरचनाको संरक्षण तथा क्षतिग्रस्त भागको पुनर्निर्माण गरियो। पुनर्निर्माणका क्रममा पुरानो वास्तुकला जोगाउने प्रयास गरिए पनि सिंहदरबारका केही मौलिक संरचना र सजावट भने सधैँका लागि गुमे।

आगलागी हुनुअघि सिंहदरबारमा ८ वटा चोक र करिब १ हजार ७ सय कोठा रहेको बताइन्छ। दरबारभित्र सिङ्गमरमरका भुइँ, कलात्मक छत, चाँदीका फर्निचर तथा क्रिस्टलका झूमरलगायतका भव्य सजावट थिए।

त्यहाँको सबैभन्दा भव्य कक्षमध्ये एक थियो ‘द स्टेट हल’। बेल्जियमका ऐना, इङ्गल्यान्डका रंगीन काँच, इटालियन सिङ्गमरमर र क्रिस्टलका झूमरजस्ता सामग्रीले यसलाई सजाइएको थियो। जुद्ध शमशेरले विदेशी पाहुनासँग भेटघाट गर्न निर्माण गराएको ग्यालरी बैठक पछि संसद भवनका रूपमा समेत प्रयोग भएको इतिहास छ।

सिंहदरबारमा बस्ने अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेर थिए। राणा शासनको अन्त्यपछि पनि उनी केही समय सिंहदरबारमै बसे। वि।सं। २००९ सालमा उनलाई दरबार छाड्न आदेश दिइएपछि सिंहदरबारलाई राष्ट्रिय सम्पत्तिका रूपमा प्रयोग गर्न थालियो। त्यसपछि यो नेपालको शासन सञ्चालनको महत्वपूर्ण केन्द्र बन्दै गयो।

त्यसपछि २०८२ भदौ २४ गतेको जेनजी आन्दोलनको नाममा सिंहदरबार दोस्रो पटक जलेको थियो । पहिले आफैँ जलेको सिंहदरबार यसपटक देशका युवाहरुले परिवर्तनका नाममा जलाएका थिए । अहिले ११७ वर्षे इतिहास बोकेको सिंहदरबार अहिले धुवाँ, खरानी र अवशेषबीच खण्डहरझैँ देखिन्छ।