सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता समेत रहेका भट्ट गत साउन २९ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको केही दिनपछि उनले आज प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्।
भट्टले मंगलबार नेकपा संसदीय दलको बैठक बोलाएर आज विश्वासको मत लिने निर्णय गरेका थिए। त्यसलगत्तै उनले प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै विश्वासको मत प्रयोजनका लागि प्रदेश सभाको बैठक बोलाउन आग्रह गरेका थिए।
मुख्यमन्त्री भट्टको पत्रअनुसार आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्ने प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिएका छन्।
बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन्। त्यसपछि प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले धारणा राख्ने र मतदान प्रक्रिया अघि बढाइनेछ।
हाल सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री भट्ट नेतृत्वको नेकपाका २२, नेपाली कांग्रेसका १८, नेपाल एमालेका ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना प्रदेशसभा सदस्य रहेका छन्।















