सेक्युरिटी प्रेस खरिदका विषयमा विस्तृत अनुसन्धान जारी : अख्तियार

Image
काठमाडौँ, ४ भदौँः सिंहदरबारमा बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक । बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काम कारवाही लगायतका विषयहरु र राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गतका उपसमितिहरु सम्बन्धमा छलफल भएको थियो । तस्बिर:रत्न श्रेष्ठ/रासस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिदका विषयमा विस्तृत अनुसन्धान जारी रहेको जानकारी दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका निमित्त सचिव पद्म मैनालीले सेक्युरिटी प्रेस खरिद सम्बन्धी विषय हाल विस्तृत अनुसन्धानकै क्रममा रहेको जानकारी दिएका हुन् ।

सार्वजनिक लेखा समितिबाट प्राप्त भएका करिब १० वटा निर्देशनहरूमध्ये सेक्युरिटी प्रेस खरिद प्रकरणलाई आयोगले अध्ययन गरिरहेको उनको भनाइ छ । राज्य व्यवस्था तथा सुशासन समितिका निर्देशनका आधारमा राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालसँग सम्बन्धित २-३ वटा उजुरीहरू विस्तृत अनुसन्धानको प्रक्रियामा रहेको मैनालीले बताए ।

रौतहटको दुर्गा भगवती गाउँपालिका कार्यालयसँग सम्बन्धित विषयमा अनुसन्धान पूरा भई मुद्दा दायर भइसकेको समेत मैनालीले जानकारी दिए । आर्थिक वर्ष २०७४/७५ बाहेक अन्य वर्षहरूमा अदालतबाट फैसला भएका मुद्दाहरूमा कसुर कायम हुने प्रतिशत ७० प्रतिशतभन्दा माथि रहेको बैठकमा जानकारी गराइयो ।

विशेष अदालतबाट कसुर कायम नभएका (सफाइ पाएका) मुद्दाहरूमा आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गर्ने गरेको उनको भनाइ छ ।