परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको शिष्टाचार भेट

Image

नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मोनैखिरले बिहीबार परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । सिहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–साउदी अरबबीचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, नेपाली श्रमिकको सुरक्षा तथा कल्याण र आपसी हितका विभिन्न विषयमा छलफल भएको छ ।

भेटका क्रममा दुवै पक्षले नेपाल र साउदी अरबबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको महत्त्वलाई स्मरण गर्दै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण तथा आदानप्रदानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । परराष्ट्रमन्त्री खनालले दुई देशबाट हुने उच्चस्तरीय भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप गति दिनुका साथै आपसी हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्न योगदान पुर्‍याउने बताएका थिए । 

“नेपाल र साउदी अरबबीचको कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाँठ महत्त्वपूर्ण अवसर हो । आगामी दिनमा दुवै देशबीच उच्चस्तरीय भ्रमण र संवादलाई निरन्तरता दिँदै आपसी हितका क्षेत्रमा सहकार्य थप विस्तार गर्नुपर्छ,” मन्त्री खनालले भनेका थिए । 

भेटमा मन्त्री खनालले हालै क्षेत्रीय द्वन्द्वका क्रममा साउदी अरबले आफ्ना नागरिक तथा साउदी अरबमा रहेका नेपाली श्रमिकको सुरक्षा र संरक्षणका लागि अपनाएका सुरक्षा तथा सुरक्षात्मक उपायप्रति धन्यवाद व्यक्त गरेका थिए । त्यसैगरी, साउदी अरबमा कार्यरत केही नेपाली श्रमिकले आफूले गरेको कामको उचित पारिश्रमिक प्राप्त नगरेको भन्ने रिपोर्टप्रति मन्त्री खनालले चासो व्यक्त गरेका थिए । त्यस्ता विषयमा आवश्यक ध्यान दिन साउदी पक्षलाई आग्रह गरे । 

मन्त्री खनालले साउदी अरबमा मृत्यु भएका नेपाली नागरिकको शव नेपाल फिर्ता ल्याउने कार्यमा साउदी अधिकारीहरूले पुर्‍याउँदै आएको सहयोगको समेत प्रशंसा गरे । भेटमा दुवै पक्षले नेपाल–साउदी अरबबीच विद्यमान सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै पारस्परिक हितका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् । राजनीतिक परामर्श, लगानी, पर्यटन, हवाई सम्पर्क, श्रम गतिशीलता तथा साउदी अरबमा रहेका नेपाली श्रमिकको कल्याणलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो ।

“नेपाल साउदी अरबसँग राजनीतिक तथा कूटनीतिक सम्बन्धसँगै लगानी, पर्यटन, हवाई सम्पर्क, श्रम र अन्य आर्थिक क्षेत्रमा सहकार्य विस्तार गर्न इच्छुक छ । दुई देशबीचको विद्यमान मैत्रीपूर्ण सम्बन्धलाई अब थप परिणाममुखी साझेदारीमा रूपान्तरण गर्न आवश्यक छ,” मन्त्री खनालले भने । 

भेटमा दुवै पक्षले आपसी सम्पर्क र संवादलाई थप सुदृढ गर्दै दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए । नेपाल र साउदी अरबबीच सन् १९७७ मार्च १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ ।