रसुवा बाढीको उद्धार तथा राहतका लागि मंगलबारसम्म २३२ पटक प्रभावित क्षेत्रमा हेलिकप्टर उडान भएको छ। ११ वटा कम्पनीको हेलिकप्टरले २३२ उडान गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिए।
उनका अनुसार भदौ १० गतेदेखि भदौ १६ गतेसम्म २३२ हेलिकप्टरले बाढी प्रभावित क्षेत्रमा उडान भरेको हो। जसमा नेपाली सेनाको हेलिकप्टरले ४२, सरकारी राहज तथा उद्धारका लागि निजी हेलिकप्टरले १२९ र ६१ वटा निजी उडान गरेका छन्।
सरकारले निजी कम्पनीका एक वा सोभन्दा बढी हेलिकप्टरहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको उद्धार समन्वय केन्द्र (आरसीसी) मार्फत परिचलन गरी रसुवाको बाढी प्रभावित क्षेत्रमा उडान गरिरहेका छ।
सरकारले निजी क्षेत्रका १५ वटासम्म हेलिकप्टर परिचालन गरिरहेको छ। यी हेलिकप्टर भदौ ११ पछि नेपाली सेनाका हेलिकप्टरसँगै रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि प्रयोग भइरहेका छन्।
विपद्यको समयमा हेलिकप्टर सेवा प्रदान गर्ने सम्बन्धमा वायुसेवा सञ्चालक संघ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग सम्झौत गरेको छ।
उक्त सम्झौताअनुसार हेलिकप्टर उडाउँदा प्रतिघण्टा करिब १८ सय अमेरिकी डलर भाडा तय गरिएको छ। सोही सम्झौताका आधारमा व्यवसायीले न्यूनतम भाडादारको बिल पेस गर्ने र सरकारले दाबी भुक्तानी दिने संघले जानकारी दिएको छ।














