रुसले इरानलाई उन्नत सुपरसोनिक क्रुज मिसाइल विकास गर्न गोप्य रूपमा सहयोग गरिरहेको खुलेको छ। द फाइनान्सियल टाइम्स को एक प्रतिवेदनअनुसार सन् २०२३ देखि सञ्चालनमा रहेको ‘सी४३०एल’ नामक बहुवर्षीय कार्यक्रममा रुसी मिसाइल विशेषज्ञहरू संलग्न छन्।
प्रतिवेदनअनुसार उक्त कार्यक्रमअन्तर्गत इरानलाई ध्वनिको गतिभन्दा कैयौँ गुणा तीव्र गतिमा उड्न सक्ने मिसाइलका लागि आवश्यक रामजेट इन्जिन प्रविधि विकास गर्न सहयोग भइरहेको छ।
रुसी पत्राचार, यात्रा विवरण तथा सैन्य पेटेन्टको विश्लेषणमा आधारित प्रतिवेदनले अमेरिका, इजरायल र इरानबीच सैन्य तनाव तथा द्वन्द्व जारी रहेका बेला पनि उक्त कार्यक्रम सञ्चालनमा रहेको देखाएको छ।
इरानी मिसाइल विज्ञ तथा कन्फ्लिक्ट आर्मामेन्ट रिसर्चका वरिष्ठ विश्लेषक फेबियन हिन्जले यसलाई रुसबाट इरानतर्फ भइरहेको अत्यन्त रणनीतिक सैन्य प्रविधि हस्तान्तरणका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार यस्तो स्तरको कार्यक्रम सञ्चालनका लागि रुसी नेतृत्वको उच्च राजनीतिक स्वीकृति आवश्यक पर्छ।
रामजेट प्रविधि जहाजविरोधी तथा स्थल आक्रमणका लागि प्रयोग हुने क्रुज मिसाइलमा उपयोग गर्न सकिन्छ।














