यू–१९ महिला क्रिकेट : नेपालले हङकङलाई हरायो

Image

यू–१९ महिला बेल्ट एन्ड रोड सिरिजअन्तर्गत बिहीबार भएको खेलमा नेपालले हङकङलाई पराजित गरेको छ । चीनको ताइचाङस्थित साक्सी टाउन क्रिकेट सेन्टरमा भएको खेलमा नेपाली महिला टोलीले हङकङलाई ९२ रनले पराजित गर्दै जित हासिल गरेको हो । 

नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हङकङ १८ ओभरमा सबै विकेट गुमाउँदै ५४ रनमै अलआउट भयो । हङकङका लागि वान तुङ सोले सर्वाधिक १२ रन बनाइन् । त्यस्तै, मान केइ लेउङले पनि १२ रन नै जोडिन् । नेपालकी मनिषा चौधरी र रचना चौधरीले समान तीन/तीन विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रन बनाएको थियो । नेपालका लागि सोनी पाख्रिनले सर्वाधिक ४४ रन बनाइन् । 

यस्तै, सवित्री धामीले चार चौकाको मद्दतमा ३६ रन बनाइन् । बलिङतर्फ हङकङकी स्टोर्म पार्करले तीन विकेट लिइन् ।