‘मध्यराति बजेटमा जब चुकुल लाग्यो…’ भन्ने शीर्षकमा प्रकाशित समाचारप्रति अर्थमन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एक राष्ट्रिय दैनिकमा अर्थमन्त्री र मन्त्रालयलाई जोडेर बजेट निर्माणमा तोकिएको बाहेक गैर कर्मचारी तथा सरोकार बाहिरको व्यक्तिलाई बोलाएर अर्थमन्त्रीले अन्तिम रात बजेटको कर हेरफेर गरेको समाचार प्रकाशित भएको थियो ।
सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले बजेट निर्माणमा कोहि पनि गैर व्यक्तिलाई नबोलाइएको र बजेट निर्माणमा सरिक समेत नगराएको प्रष्ट पारेको हो ।
‘माननीय अर्थ मन्त्री सामान्यतः सूचीकृत दैनिका औपचारिक कार्यक्रमबाहेक हरेक दिन विहान ७:३० बजे मन्त्रालय आउने र राति अबेरसम्म रही बजेटलाई पूर्णता दिन मन्त्रालयका अधिकारीहरुसँग निरन्तर छलफल गर्ने कार्यमा खट्नुभएको थियो।’, विज्ञप्तिमा लेखिएको छ, ‘जेठ १४ गते पनि माननीय मन्त्रीको नेतृत्वमा सचिव, सचिव र मन्त्रालयका सम्बन्धित महाशाखा प्रमुखहरु तथा भन्सार विभाग र आन्तरिक राजश्व विभागका महानिर्देशक समेतको सहभागितामा विषयहरु तयारी भएको र यस प्रक्रियामा तोकिएका जिम्मेवार पदाधिकारीबाहेक अरु कसैको सहभागिता नरहेको सबैमा जानकारी गराउँदछौं।’
मुलुकको अर्थतन्त्रको विकास र सुधारका बिषयमा निरन्तर क्रियाशिल रहनुभएका माननीय अर्थ मन्त्रीका बारेमा भ्रम सृजना हुने गरी तथ्य र तर्कभन्दा टाढा रही कपोलकल्पित र भ्रमपूर्ण विषय राखी समाचार प्रकाशित हुनु खेदजनक रहेको समेत मन्त्रालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।














