मोरङको बेलबारीमा मंगलबार राती भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तीन जना सवार स्कुटर ट्रकसँग ठोकिँदा दुई जना गम्भीर घाइते भएका छन।
बेलबारी नगरपालिका–४ बेतना राती ११ बजे दुर्घटना भएको थियो। पश्चिमबाट पूर्व जाँदै गरेको ना ६ ख ५५४४ नम्बरको ट्रकमा सोही दिशातर्फ जाँदै गरेको को २० प ७६४५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक बेलबारी–५ का २६ वर्षीय विक्रम राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको नोबेल अस्पताल बिराटनगरमा उपचारका क्रममा बुधबार बिहानको १ बजेतिर मृत्यु भएको हो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए अनुसार स्कुटरको पछाडि बसेका पाँचथर मिक्लाजुङ –३ का २० वर्षीय रञ्जन चेम्जोङ र २२ वर्षीय अभिषेक राई गम्भीर घाइते छन।














